गोलबजार (सिरहा) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सिरहा क्षेत्र नं. ३ का सांसद डा. शम्भू यादवले सिरहाको गोलबजारमा साउन १४ गते भएको दुई पक्षीय झडपका क्रममा ज्यान गुमाएका (देह त्याग गरेका) गणेश यादवप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

घटनाप्रति चिन्ता व्यक्त गर्दै सांसद डा. यादवले सम्पूर्ण क्षेत्रवासी तथा जनसमुदायलाई संयमित रहन र आपसी सामाजिक सद्भाव कायम राख्न जोडदार अपिल गर्नुभएको छ।

हाल धार्मिक तथा साम्प्रदायिक नारा (हिन्दु र मुस्लिम) को नाममा जातीय दंगा र हिंसा भड्काउने प्रयासहरू भइरहेको भन्दै उहाँले त्यस्ता अवाञ्छित गतिविधिबाट जोगिन सबैलाई आग्रह गर्नुभयो। सबै समुदायमा अपनत्वको भावना कायम राख्नका लागि आपसी सद्भाव, मेलमिलाप र भाइचाराको नीति अवलम्बन गर्नु नै आजको आवश्यकता रहेको उहाँको भनाइ छ।

भविष्यमा देशका कुनै पनि ठाउँमा यस्ता दुखद घटना दोहोरिन नदिन र भयावह स्थिति सिर्जना हुन नदिनका लागि सांसद यादवले स्थानीय स्तरका सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

“यस्ता हिंसात्मक घटनाले कसैको पनि हित गर्दैन, केवल विनाश र दुःख मात्र निम्त्याउँछ,” सांसद यादवले भन्नुभयो, “त्यसैले यस विषयमा सबै क्षेत्र र समुदाय सचेत हुनुपर्छ।”

साथै, सांसद यादवले सरकारले यस घटनालाई अत्यन्तै गम्भीरताका साथ लिइरहेको र आवश्यक कदम चालिरहेको जानकारी पनि दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !