काठमाडौं, ४ भदौ  । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचको दूरी बढ्दै गएको देखिएको छ। सरकार गठन भएको पाँच महिना नपुग्दै पार्टी र प्रधानमन्त्रीबीच समन्वयको अभाव देखिन थालेपछि रास्वपाका सांसदहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन्।

सरकारका महत्वपूर्ण निर्णयमा पार्टीभित्र पर्याप्त छलफल र स्वामित्व नदेखिएको भन्दै सांसदहरूले प्रश्न उठाउन थालेका छन्। यही असन्तुष्टिबीच रास्वपा सभापति रवि लामिछानेले बुधबार संसदीय दलको बैठक बोलाएका थिए। तर, संसदीय दलका नेता तथा प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएनन्।

बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीसँग भेटघाट र छलफल सहज नभएको गुनासो गरेका थिए। किसानले मल नपाएको, उपभोक्ताले ग्यासको समस्या भोग्नुपरेको तथा व्यवसायीमाथि भइरहेको धरपकडजस्ता विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

सरकार आफ्नै शैलीमा अघि बढ्दा पार्टी र सरकारप्रतिको जनविश्वास कमजोर हुन सक्ने भन्दै सांसदहरूले कार्यशैली सुधार्न नेतृत्वलाई आग्रह गरेका थिए। जवाफमा सभापति लामिछानेले सांसदका गुनासा सम्बोधन गर्दै सरकारको कामकारबाही सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

रास्वपाको पछिल्लो विधानले सभापतिलाई संसदीय दलका नेतामाथि समेत प्रभावकारी अधिकार दिएको छ। सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेतालाई हटाउन सकिने प्रावधानका कारण प्रधानमन्त्री शाहमाथि राजनीतिक दबाब बढेको देखिन्छ।

पार्टीको महाधिवेशनपछि सभापति लामिछानेले संसदीय दलको बैठकसमेत आफैं बोलाउन थालेपछि प्रधानमन्त्री शाह र पार्टी नेतृत्वबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !