जनकपुरधाम, ४ भाद्र । जनकपुरधाममा प्रोटोन विद्युतीय गाडीको नयाँ आधिकारिक शो रुम सञ्चालनमा आएको छ । जगदम्बा मोटर्स कम्पनीले बिहीबार जनकपुरधाममा आफ्नो १० औँ प्रोटोन शो रुम शुभारम्भ गरेको हो । शो रुम उद्घाटनसँगै कम्पनीले आफ्नो नयाँ विद्युतीय गाडी ‘द अल–न्यू प्रोटोन ई.मास ५’ समेत सार्वजनिक गरेको छ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपनगर प्रमुख किशोरी साहले पछिल्लो समय ईभी गाडीप्रति सर्वसाधारणको आकर्षण बढेकाे भन्दै जनकपुरधाममा पनि प्रोटोनका गाडीले बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रोटोन ईभीको शो रुम जनकपुरधाममा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै आफूहरूको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले अटोमोबाइल्स कम्पनीहरूले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) योजनाहरूमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

 

त्यसैगरी जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनको नयाँ सोरुम सञ्चालनसँगै जनकपुरधाम र आसपासका ग्राहकलाई विश्वस्तरीय विद्युतीय सवारीको पहुँच विस्तार भएको बताउनुभयो । उहाँले आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यका कारण ई.मास ५ ग्राहकको रोजाइमा पर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

क्षेत्रीले मुनाफा मात्र कमाउने उद्देश्य आफ्नो कम्पनीको नभएको भन्दै सामाजिक उत्तरदायित्वका विभिन्न योजना तथा गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनुभयो । नेपालभर रहेका प्रोटोनका शो रुममार्फत् नयाँ विद्युतीय गाडीलाई ग्राहकसम्म पुर्‍याउने कम्पनीको योजना रहेको पनि उहाँले बताउनुभएको थियो ।

प्रोटोन ई.मास ५ नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यका साथ यो गाडी नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । भक्तपुरबाट सुरु भएको ई.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुरधाम पुगेको हो ।

कार्यक्रममा जगदम्बा मोटर्सका मार्केटिङ हेड किरण आचार्य, सेल्स हेड दिपेश पौडेल, रिजलन म्यानेजर सुमन रेग्मी, जनकपुरधामस्थित शो रुमका म्यानेजेर अनिलकुमार ठाकुरका साथै ग्राहक, व्यावसायिक साझेदार, अटो क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ई.मास ५ का विशेषता

प्रोटोन ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोलगायतका आधुनिक फिचर रहेका छन्। गाडीमा ७० लिटरको फ्रन्ट फ्रङ्क तथा विभिन्न प्रयोजनका लागि ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेको कम्पनीले जनाएको छ। दैनिक सहरी यात्रादेखि लामो दूरीसम्मको यात्रालाई सहज बनाउने गरी गाडीको डिजाइन र फिचर तयार गरिएको कम्पनीको दाबी छ । प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने भएको छ । कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। सोरुमबाट गाडीको प्रविधि, डिजाइन, फिचर र बिक्रीपछिको सेवासम्बन्धी जानकारीसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !