सप्तरी, ७ भदौ । सप्तरीमा दुई वर्षीया बालिका शंकास्पद मृत भेटिएको घटनामा प्रहरीले सौतेनी आमा नियन्त्रणमा लिएको छ । आइतबार शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया बालिका ‘शंकास्पद’ अवस्थामा मृत भेटिएकी थिइन् ।
सोही घटनामा उनकी सौतेनी आमा अनुसन्धानको घेरामा तानिएकी हुन् । मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहानदेखि हराइरहेकी थिइन् । परिवारले खोजी गर्ने क्रममा घरपछाडिको झाडीमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले उनकी सौतेनी आमा मुस्कान खातुनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
बालिकाको मृत्युको वास्तविक कारण भने विस्तृत अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ।





