हेटौँडा , ८ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाका लागि विश्वासको मत लिनु चुनौतीपूर्ण बनेको छ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा ६३ प्रदेशसभा सदस्यको समर्थनसहित थापा मुख्यमन्त्री बनेका थिए। तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनको पक्षमा रहेको अंकगणित कमजोर बनेको छ।
राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरेपछि अन्य तीन सांसदलाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको छ। साथै राप्रपाले मुख्यमन्त्रीको पक्षमा मतदान नगर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
हाल मुख्यमन्त्री थापाको पक्षमा एमालेका २५ र नेपाली कम्युनिष्ट पार्टीका २६ गरी ५१ सांसद मात्र देखिन्छन्। राप्रपाका १२ सांसदले साथ नदिने अवस्था बनेपछि सरकारलाई आवश्यक बहुमत जुटाउन कठिन भएको हो।
११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सदस्य छन्। मुख्यमन्त्रीले विश्वासको मतका लागि कम्तीमा ५३ मत प्राप्त गर्नुपर्ने हुन्छ।
प्रदेशसभा सभामुखविहीन रहेकाले पनि मतदानको अंकगणित थप जटिल बनेको छ। संविधानको धारा १८६ अनुसार प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले बराबर मत भएको अवस्थामा बाहेक मतदान गर्न नपाउने व्यवस्था छ। यस्तो अवस्थामा सरकारको पक्षमा देखिएको संख्या व्यवहारमा अझै घट्न सक्ने देखिएको छ।
यता, प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना ३६ सांसदलाई मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।
बागमती प्रदेशसभामा कांग्रेसका ३६, नेपाली कम्युनिष्ट पार्टीका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
यसअघि एमालेले समर्थन फिर्ता लिएपछि हाम्रो नेपाली पार्टीबाट अघिल्लो मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एक जना सांसद मन्त्री बनेका थिए। त्यसकारण यो पार्टीले पनि थापा सरकारलाई समर्थन गर्ने सम्भावना कमजोर रहेको छ।
त्यस्तै, सरकार गठनको प्रक्रियामा सहभागी नहुने बताउँदै आएको नेपाल मजदुर किसान पार्टीको भूमिका पनि आजको मतदानमा महत्वपूर्ण हुने देखिएको छ।
राप्रपा र कांग्रेसको ह्विप, सभामुखको अनुपस्थिति तथा साना दलको सम्भावित तटस्थताका कारण ६३ सांसदको समर्थनबाट मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत कायम राख्न कठिन देखिएको छ। आजको प्रदेशसभा बैठकले बागमतीमा थापा नेतृत्वको सरकारको भविष्यसमेत निर्धारण गर्नेछ।





