कपिलवस्तु, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पन्ध्र किलोभन्दा बढी लागुऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ।

कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच महिलालाई शङ्का लागेर रोकी जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाँच जनाको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ ५ किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको छ। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

बरामद पदार्थको परीक्षणसँगै घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित लागुऔषध कारोबारको सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !