काठमाडौँ, ८ भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

थारू कल्याणकारिणी सभाले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गबाट समाधान खोज्नुपर्ने बताइन्।

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि संस्थाले ‘टीकापुर विद्रोह, आन्दोलनको माग, मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाइन्।

उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको दाबी गरिन्।

मन्त्री चौधरीले टीकापुर घटनाको विषयलाई लामो समयसम्म अनिर्णीत अवस्थामा राख्न नहुने भन्दै सत्यतथ्यका आधारमा न्यायोचित निकास खोजिनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !