जनकपुरधाम, १० भदौ । मधेश प्रदेशमा जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण फैलिँदै गएको छ। प्रदेशका आठ जिल्लामध्ये सर्लाहीबाहेक सात जिल्लाका १५ स्थानीय तहमा १९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेका अनुसार भदौ ५ गतेसम्म प्रयोगशाला परीक्षणबाट १९ जनामा जेई पुष्टि भएको हो। संक्रमितमध्ये करिब ३२ प्रतिशतको मृत्यु भएको भन्दै उनले मृत्युदर उच्च रहेको बताए।
निर्देशनालयका अनुसार सप्तरी सबैभन्दा बढी प्रभावित जिल्ला हो। सप्तरीका राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा ६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ।
त्यस्तै, पर्सामा चार संक्रमितमध्ये दुई, धनुषामा तीनमध्ये एक र रौतहटमा एक जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास, औरही र सम्सीमा तीन तथा सिरहाको धनगढीमाई नगरपालिका र बारामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यकर्मीका अनुसार उपचारपछि घर फर्किएका केही संक्रमितमा पनि बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुनेलगायत दीर्घकालीन समस्या देखिएको छ।
खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार नियमित खोप अभियानमार्फत करिब ९५ प्रतिशत बालबालिकाले जेई खोप पाएका छन्। पछिल्लो समय खोप नलिएका वा खोप लगाउने उमेर पार गरेका व्यक्तिमा संक्रमण र मृत्यु बढी देखिएको उनको भनाइ छ।
संक्रमण बढेपछि स्वास्थ्य अधिकारी, विश्व स्वास्थ्य संगठन तथा खोपसम्बन्धी टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति झुल प्रयोग गर्न र शरीर ढाकिने कपडा लगाउन आग्रह गरेको छ।
उच्च ज्वरो, टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने वा शरीरमा झट्का लाग्ने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
यसैबीच, देशभर साउन मसान्तसम्म ५८ जनामा जेई पुष्टि हुँदा १६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।





