काठमाडौँ, १० भदौ । तिब्बत क्षेत्रमा हिमपहिरो खसेपछि भोटेकोशी नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा ठुलो बाढी नेपाल प्रवेश गरेको हुन सक्ने चिनियाँ विज्ञ टोलीको प्रारम्भिक अनुमान छ।

विपद् विज्ञ वसन्तराज अधिकारीका अनुसार चिनियाँ वैज्ञानिकहरूले तिब्बत क्षेत्रमा भएका भौगर्भिक गतिविधिको नजिकबाट विश्लेषण गरिरहेका छन्। उहाँ एक सम्मेलनको सिलसिलामा अहिले चीनमै रहनुभएको छ।

चिनियाँ टोलीसँग नजिक रहेर गतिविधिबारे जानकारी लिइरहनुभएका अधिकारीका अनुसार हिमपहिरो खसेपछि तिब्बत क्षेत्रमा भोटेकोशी नदी थुनिएको र त्यसबाट बनेको अस्थायी बाँध फुट्दा ठुलो बाढी रसुवा हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको हो।

उहाँले भन्नुभयो, “पहिरोपछि खोला थुनिएर बनेको ड्याम फुटेर बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।”

बाढीको वास्तविक कारण पत्ता लगाउन विज्ञहरू स्याटलाइट तस्बिरहरूको खोजीमा सक्रिय छन्। अधिकारीका अनुसार प्रभावित क्षेत्रको जमिनको अवस्थासम्बन्धी तस्बिर प्राप्त गर्ने प्रयास भइरहेको छ।

“ठ्याक्कै ग्राउन्डको तस्बिर निकाल्न कसरत भइरहेको छ। यकिन तस्बिर प्राप्त हुन नसक्दा बाढीको पक्का कारण थाहा हुन सकेको छैन,” उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !