जनकपुरधाम, ४ असोज । जनकपुरधाममा घरमा आगलागी हुँदा एक अवकाशप्राप्त शिक्षकको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा गएराति अचानक आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।

स्थानीयका अनुसार राति घरमा आगलागी भएपछि सहनीले समयमै बाहिर निस्कन नसक्दा घटनामा उनको मृत्यु भएको हो। आगलागीबाट घरमा समेत क्षति पुगेको बताइएको छ।

सहनी महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी रहेको र अवकाशप्राप्त शिक्षक रहेको जनाइएको छ। घटनाका बेला घरमा रहेकी उनकी नातिनी भने भागेर सुरक्षित हुन सफल भएकी छन्।

आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर घटना भएको हुनसक्ने प्रहरीको आशंका छ। यद्यपि आगलागीको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। आगलागीबाट भएको क्षति तथा घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !