काठमाडौँ, ४ असोज । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावबारे छलफल भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको हो ।बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएको प्राधिकरणले जनाएको छ ।
बैठकले सो वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ । त्यसैगरी, बैठकले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका क्षेत्रमा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
झोलुंगे पुलका लागि उपलब्ध स्रोतसाधन सहयोग गर्न इच्छुक संघसंस्था समेतको सहयोगमा झोलुङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउनुपर्ने बैठकले भनेको छ ।





