काठमाडौँ, ४ असोज । संविधान दिवसका अवसरमा आयोजित ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमको राष्ट्रिय मुक्ति पार्टीले आज समीक्षा गरेको छ। समीक्षा बैठकले अन्तरक्रिया कार्यक्रमलाई देशव्यापी रूपमा अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
असोज ३ गते एकातिर संविधान दिवस र अर्कोतिर असन्तुष्ट समुदायले ‘कालो दिन’का रूपमा मनाइरहेको सन्दर्भमा आयोजित उक्त कार्यक्रम समसामयिक, सान्दर्भिक र प्रभावकारी रहेको सहभागीहरूले बताएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुनविद्, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा असन्तुष्ट समुदायका मुद्दा तथा संविधान संशोधनको आवश्यकताबारे विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए। धारणा राख्नेहरूमा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, जरोकिलो अभियानका डा. प्राध्यापक निर्मलमणि अधिकारी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धछिरिङ मोक्तान, मधेश प्रदेशका पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, राष्ट्र निर्माण दलका समिम मिया अन्सारी, संविधानसभा सदस्य रामकुमार शर्मा, नागरिक पहिलो अभियानका प्रशान्त सिंह, जेन–जी अभियन्ता माजित अन्सारी, राष्ट्रिय एकता अभियानका विनायककुमार यादव, प्रजातान्त्रिक समाजवादी पार्टीका अध्यक्ष अशोक यादव, जी.के. मण्डल फाउन्डेसनका गणेश मण्डल, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, अधिवक्ता विकास ठाकुर, संस्कृति अभियन्ता रविराज साह, पिछडावर्ग महासंघका सि.एन. खड्गा, अनिस अन्सारी, अमरदेव यादव, दिग्विजय मिश्र, दीपक गुप्ता, महिला अभियन्ता बेबि राजभण्डारी र विकास तिवारीलगायत रहेका थिए।
कार्यक्रमपछि बसेको समीक्षा बैठकले अन्तरक्रियामा विभिन्न क्षेत्रका वक्ताहरूले व्यक्त गरेका महत्त्वपूर्ण विचार तथा सुझावलाई आधिकारिक रूपमा दस्तावेजीकरण गर्ने निर्णयसमेत गरेको छ।
‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमको सान्दर्भिकता उच्च रहेको निष्कर्ष निकाल्दै बैठकले यसलाई देशका विभिन्न स्थानमा विस्तार गरी अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टीका महासचिव सन्तोष मेहताले बताएका छन्।





