जनकपुरधाम, ५ असोज । राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरूले उपकुलपति प्राध्यापक डा. श्यामनारायण लाभको राजीनामा माग गर्दै सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले शैक्षिक सत्र २०८३ का लागि छुट्याइएको छात्रवृत्ति कोटामा उपकुलपतिले मनोमानी गरेको आरोप लगाएका छन् । प्रवेश परीक्षामा कम अङ्क ल्याएका विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । विद्यार्थीहरूले पाँच दिनअघि उपकुलपतिको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।
विद्यार्थीहरूले दफा १० अनुसार गरिएका निर्णयसमेत रद्द गर्न माग गरेका छन् । छात्रवृत्ति व्यवस्थापन कार्यविधि पुनःसंशोधन गरी स्पष्ट मापदण्डका आधारमा योग्य विद्यार्थीलाई मात्र छात्रवृत्ति उपलब्ध गराउनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति प्रवेश यादवले माग गरेका छन् ।

विद्यार्थीहरूका अनुसार ५० सिट मात्र रहेको बीएएलएलबी कार्यक्रममा १२४ औँ र १२८ औँ योग्यताक्रममा रहेका विद्यार्थीलाई पूर्ण निःशुल्क छात्रवृत्ति दिने निर्णय गरिएको छ । छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा प्रकाशन भएपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।
कार्यविधिको दफा १० मा– “नियमित छात्रवृत्तिअन्तर्गत समावेश हुन नसकेका तर कुनै विशेष कारणवश उपकुलपतिको स्वविवेकीय मूल्याङ्कनमा छात्रवृत्ति प्रदान गर्न आवश्यक देखिएमा, उपकुलपतिको प्रस्तावमा जुनसुकै तह र शैक्षिक कार्यक्रममा एक शैक्षिक सत्रमा बढीमा पाँच जनालाई कार्यकारी परिषद्बाट तोकिएबमोजिम छात्रवृत्ति प्रदान गर्न सकिनेछ “ व्यवस्था छ ।
तर, प्रवेश परीक्षाको योग्यताक्रममा पछाडि रहेका तथा भर्नाका लागि समेत योग्य नरहेका विद्यार्थीलाई कसरी पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरियो भन्ने प्रश्न उनीहरूले उठाएका छन् । आफ्ना माग सम्बोधन नभएसम्म उपकुलपतिको कार्यकक्षमा गरिएको तालाबन्दी जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् । यसैबीच, विद्यार्थीहरूले उपकुलपति लाभमाथि विश्वविद्यालयमा कर्मचारी तथा शिक्षक नियुक्तिका क्रममा समेत प्रक्रिया मिचेको आरोप लगाएका छन् ।





