काठमाडौँ, ५ असोज । नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

त्यस्तै कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मौसममा आएको परिवर्तनका कारण देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। विशेषगरी उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र क्रमशः गहिरिँदै गएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको विभागले जनाएको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव आउनुका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित संघीय मन्त्रालय, निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ।

त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका आवश्यक उपकरण तयारी अवस्थामा राख्न, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

प्राधिकरणले बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरेको छ। साथै विपद्सम्बन्धी सहायता आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको ११४९, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

नेपाल मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी निरन्तर लिन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !