काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।
राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री साह आज साँझ ७ बजे काठमाडौँबाट अमेरिकाको न्यूयोर्क जाँदैछन्।
प्रधानमन्त्री साहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसङ्घको महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री साहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उनी असोज १० गते स्वदेश फर्किने छन् । प्रधानमन्त्री साहको यो पहिलो विदेश भ्रमण हो ।





