काठमाडौँ, ६ असोज । नेकपा एमालेमा पार्टीलाई पुनर्गठनको माग उठेको छ । मङ्गलबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीलाई पुनर्गठन गरी अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेकोले पार्टीलाई पुनर्गठन गरेर जानुपर्ने बताएका छन् । पौडैलले भने, ‘पार्टीलाई पुनर्गठित गर्दै जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर अघि बढ्नुपर्छ । उनले थपे, ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको छ ।’
उनले जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण गर्नुपर्नेमा जोड दिए ।
महासचिव शङ्कर पोखरेलले पार्टी निर्माणका लागि बहसको थालनी गरेपछि अध्यक्ष ओलीसँग दूरी बढाएको बताएका छन् । केन्द्रीय कमिटीमा धारणा राख्दै उनले एमालेभित्र नीतिगत र नेतृत्वका विषयमा अहमति राख्नु मूल नेतृत्वलाई नमान्नु नभएको बताएका थिए ।
पार्टी पुनिर्माणका लागि देशभरबाट आएका सुझावालाई बेवास्ता गर्नु गलत हुने भएकाले त्यसलाई ग्रहण गर्न ओलीलाई सुझाव दिएका छन् । पोखरेलले नेतृत्वले महसुस गरी आन्तरिक एकता बलियो भए मात्र एमाले पुननिर्माणको बाटोमा अघि जान सक्ने बताए ।





