जनकपुरधाम, ६ असोज । राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीले छात्रवृत्तिसम्बन्धी कार्यविधिमा रहेको दफा १० खारेज गर्न सहमत भएका छन्  । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. श्यामनारायण लाभ र विद्यार्थीका तर्फबाट स्ववियुका निवर्तमान सभापति प्रवेश यादवबीच मङ्गलबार भएको वार्तामा तीनबुँदे सहमति भएसँगै यो दफा खारेज हुने भएको हो ।

सहमतिअनुसार छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८२ को दफा १० खारेज गर्ने र उक्त दफाबमोजिम यसअघि भएका निर्णयलाई यथाशीघ्र कार्यकारी परिषद्को बैठकबाट खारेज गर्ने निर्णय भएको छ। त्यस्तै, समिति गठन गरी कार्यविधिलाई पुनःसंशोधन गर्ने सहमति भएको छ। सहमतिको तेस्रो बुँदामा उपकुलपतिको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्ने पनि उल्लेख छ।

राजविले  कार्यविधिको दफा १० मा उल्लेखित– “नियमित छात्रवृत्तिअन्तर्गत समावेश हुन नसकेका तर कुनै विशेष कारणवश उपकुलपतिको स्वविवेकीय मूल्याङ्कनमा छात्रवृत्ति प्रदान गर्न आवश्यक देखिएमा, उपकुलपतिको प्रस्तावमा जुनसुकै तह र शैक्षिक कार्यक्रममा एक शैक्षिक सत्रमा बढीमा पाँच जनालाई कार्यकारी परिषद्बाट तोकिएबमोजिम छात्रवृत्ति प्रदान गर्न सकिनेछ ।” व्यवस्था खारेज गर्ने भएको हो ।

५० सिट मात्र रहेको बीएएलएलबी शैक्षिक कार्यक्रममा १२४औँ र १२८औँ योग्यताक्रममा रहेका विद्यार्थीलाई दफा १० अनुसार पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिएपछि ६ दिनअघि विद्यार्थीहरूले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिदिएका थिए । विद्यार्थीहरूले शैक्षिक सत्र २०८३ का लागि छुट्याइएको छात्रवृत्तिमा उपकुलपतिले स्वविवेक प्रयोग गरी प्रवेश परीक्षामा कम अङ्क ल्याएका पाँच विद्यार्थीलाई पूर्ण निःशुल्क छात्रवृत्ति दिने निर्णय गरेको आरोप लगाउँदै आएका थिए ।

विद्यार्थीहरूले छात्रवृत्ति वितरणमा समानता, पारदर्शिता र कार्यविधिको पालना हुनुपर्ने माग गर्दै सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रदर्शनसमेत गरेका थिए । वार्तामा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख तथा कर्मचारी र विद्यार्थी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !