गुल्मी ६ फगुन। सुख्खा मौसम सुरु भएसँगै गुल्मीमा आगलागीका घटना बढेका छन् । जिल्लामा माघ महिनामा मात्रै विभिन्न १६ ठाउँमा आगोलागी भएको प्रहरीको तथ्यांक छ ।
एक महिनाको अवधिमा विभिन्न सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आगलागीबाट एउटा घर, ३ वटा गोठ जगेको तथ्याङक प्रहरीको छ । त्यस क्रममा २ वटा पशु चौपाया जलेका छन् । चारवटा घाइते भएका छन् ।आगलागीमा परेर एक जना मानिस पनि घाइते भएको प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न स्थानका १६ ठाउँमा लागेको आगो नियन्त्रण गर्न ५१ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।गर्मी सुरु नहुँदै यतिधेरै ठाउँमा आगलागी हुनु यस वर्षको सुख्खा सिजनका लागि ठूलो चुनौतीको विषय बन्ने देखिन्छ । जिल्लामा अघिल्ले वर्ष गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको थियो ।आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको थियो । अघिल्लो वर्ष जिल्लामा ६१ वटा घर र ७९ वटा गोठ जलेर करोडौंको क्षति भएको थियो ।गुल्मी जिल्लामा पछिल्लो २० वर्षको तथ्याङक हेर्दा ०७३ साल पछि आगलागीको ठूलो घटना अघिल्लो वर्ष भएको छ ।





