रामेछाप, ३१ असार । बिपी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण आएको पहिरो र लेदोले बिपी राजमार्ग विभिन्न स्थानमा अवरुद्ध बनेको छ। विशेषगरी काभ्रेको रोशी गाउँपालिकाका तीन स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, रोशी गाउँपालिका–११ को माम्तीस्थित सडक खण्डमा भेल र बाढीले कटान गरेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। त्यसैगरी, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोले सडक छेकेको छ। यस्तै, बिरुवाडाँडामा पनि खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
राजमार्ग सुचारु गर्न बिहानैदेखि जेसीबी प्रयोग गरी अवरुद्ध स्थानहरूमा सडक खुलाउने प्रयास थालिएको छ। सुरक्षाकर्मी र स्थानीय तहका कर्मचारीहरू खटिएका छन्। तर, लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको बताइएको छ।
बिपी राजमार्ग वर्षा सुरु भएदेखि नै पटक–पटक अवरुद्ध हुँदै आएको छ। माथिबाट आएको लेदो र बाढीले सडक छेक्ने, बगाउने र यातायात ठप्प पार्ने घटना बारम्बार हुने गरेको छ। स्थानीयहरूका अनुसार, असोज महिनामा आएको ठूलो पहिरोले रोशीखोला क्षेत्रको सडकमा ठूलो क्षति पुर्याएको थियो। त्यसयता अस्थायी रुपमा सञ्चालनमा आएको सडक पुनः बारम्बार बन्द हुने समस्या देखिएको छ।
यस पटकको बिपी राजमार्ग ठाउँ–ठाउँमा अवरोधका कारण रामेछाप, सिन्धुली, ओखलढुंगा लगायतका पूर्वी जिल्लातर्फ जाने सवारी साधनहरू बाटोमै रोकिएका छन्। यात्रुहरू अलपत्र परेका छन् भने खाद्यान्न, दुधजन्य पदार्थ, तरकारी लगायतका उपभोग्य वस्तुहरू ढुवानीमा पनि असर परेको छ।
स्थानीय प्रशासनले वैकल्पिक व्यवस्था मिलाउन प्रयास गरिरहेको जनाएको छ। यातायात सञ्चालनमा ल्याउन मौसम सुधार भएलगत्तै कामलाई तीव्रता दिने तयारी छ।
बिपी राजमार्ग काठमाडौं उपत्यका र पूर्वी पहाडी तथा तराई जिल्लाबीचको महत्त्वपूर्ण यातायात नाका हो। वर्षायाममा बारम्बार बन्द हुने समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयबासी र यातायात व्यवसायीहरू बताउँछन्। अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन सरोकारवाला निकायहरूको समन्वयमा काम भइरहेको छ।





