जनकपुरधाम, १७ साउन । ‘चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज’ को कार्यबाहक अध्यक्षमा सिरहाका पत्रकार अभरेन्द्र कुमार यादव चयन भएका छन् ।
शनिबार धनुषाको ढल्केबरमा समाजका पदाधिकारी तथा सदस्यहरुको बैठकबाट यादव कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
समाजका अध्यक्ष वरिष्ठ पत्रकार अनिल कुमार कर्ण काम विशेषले बाहिर जाने भएकोले यादवलाई कार्यबाहकको जिम्मेवारी दिइएको अध्यक्ष कर्णले बताए ।
कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका यादव प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिका अध्यक्ष र जसपा नेपालको वन, वातावरण तथा विपद व्यवस्थापन विभागका सदस्य समेत समेत हुन् । करिब एक दशक देखि यादव चुरे र वन तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।
अहिले मधेस खडेरीको खतरामा छ । मधेस जोगाउने हो भने चुरे र नदी दोहन रोक्नु पर्छ । चुरे विनाश तथा भू–क्षयीकरण र जथाभावी नदी उत्खनन रोक्न आमनागरिक र सरोकारबाला सबैलाई सहयोग गर्न सचेतना फैलाउने बैठकमा सहभागीहरुले प्रतिवद्धता जनाए ।
बैठक सहभागी सम्पूर्णको एउटै चाहना थियो, ‘चुरे रहे जल र जल रहे हामी’ । विगत वा वर्तमानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार सबैको चुरेप्रति गिद्धेदृष्टि रहेको जनाउँदै चिन्ता व्यक्त गरे ।
‘चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज’ का पदाधिकारीहरुले चुरे विनाश तथा नदीनालाको अवैध उत्खनन रोक्न सरकारलाई ध्यानाकर्षण गराउने, गाउँ तथा नगर बस्तीमा समेत जनचेतना फैलाउन सक्दो प्रयास गर्ने ऐक्यबद्धता जनाए ।
‘चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज’ चुरे, वनजंगल र नदीनालाको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले पत्रकारहरुद्वारा गठन गरिएको छ ।





