जनकपुरधाम, ३ भदौ । गौर काण्डको नाउमा उपेन्द्र यादवलाई फँसाउने प्रयास गरेको भन्दै जसपा नेपाल निकट युवा विद्यार्थीहरुको अगुवाईमा काठमाण्डौ सहित मधेश भरि मंगलवार प्रदर्शन भएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाको छानविन गर्न भन्दै सर्वोच्च अदालतले जारी गरेको परमादेश पछि आक्रोशित भएको जसपा नेपालका नेता कार्यकर्ताहरु काठमाडौ सहित मधेशभरि प्रदर्शन गरेको छ ।
युवा विद्यार्थीहरुको अगुवाईमा मधेशको राजधानी जनकपुरधामको जनकचोकमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले सरकार र नश्लवादी अदालत विरुद्ध नारावाजी गरेका थिए । उनिहरुले राजनीतिक आन्दोलनलाई न्यायिक तबर बाट समाधान गर्न नसकिने बताएका थिए ।
आन्दोलनकारीहरुले गौर घटनाका मुख्य योजनाकार प्रभु साहमाथि कारबाही हुनु पर्ने भन्दै सरकार विरुद्ध समेत नारावाजी गरेका थिए । विरोध कार्यक्रमलाई मधेश प्रदेशका पूर्व गृहमन्त्री ज्ञानेन्द्र यादव, सत्रुधन यादव, विष्णदेव साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
यसैगरि युवा विद्यार्थीहरुले काठमाडौको माइतीघर मण्डलामा समेत विरोध प्रदर्शन गरेको छ भने मधेशका जिल्लाहरु सप्तरी, सिरहा, महोत्तरी , सर्लाही, रौतहट, बारा पर्सा लगायतको जिल्लाका सदरमुकाम तथा ग्रामीण भेगमा समेत विरोध प्रदर्शन गरिएको छ।
२०६३ चैत ७ गते तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले आयोजना गरेको सभालाई विथोल्ने गरि माओवादी निकट मधेशी मुक्ति मोर्चाले समेत सोही मिति र स्थानमा कार्यक्रम गर्ने घोषणा गरेपछि दुई पक्षबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए ।
उक्त घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित १ सय ३० जना माथि कारबाही हुनु पर्ने मांग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सोमवार छानविन गर्न परमादेश जारी भएको छ ।





