विराटनगर, १६ भदौ  । संघीय लोकतान्त्रिक मोर्चाले अधिकार, पहिचान र स्वायत्तताको सवालमा एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारेको छ ।

मोर्चाले सोमबार विराटनगरमा आयोजन गरेको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्दै अधिकार, पहिचान र स्वायत्तताको सवालमा एकजुट हुनुपर्ने बताएका छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा एउटै पार्टीमा रहेर पनि विभाजनमा पुगेका नेताहरू फेरि एउटै मञ्चमा आउनुपर्ने आवश्यकता देखिएको बताए। उनले भूमि ऐनलाई “देशलाई वनजंगल मुक्त बनाएर धन कमाउने योजना”को संज्ञा दिँदै यसको विरोध गरे।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति र मधेसी समुदायहरू राज्यविहीन बनेर बाँच्न बाध्य रहेको भन्दै विभाजनका कारण विगतमा संघर्ष असफल भएको टिप्पणी गरे। “अधिकार र पहिचानका लागि उत्पीडितहरू मिल्नुको विकल्प छैन,” उनले भने।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनकारीमाथि झुटा मुद्दा लगाइएको भन्दै सरकारको आलोचना गरे। उनले मधेश शब्दलाई मान्यता दिलाउन लगातार संघर्षको भूमिका रहेको बताए।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसी समाज राजनीतिक र सामाजिक रूपमा विभाजित भएको भन्दै एक हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आन्दोलनकारीमाथि दायर मुद्दा खारेज र भूमिको संरक्षणका लागि मोर्चा एकजुट हुनुपर्ने बताए।

तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले समावेशिता, समानुपातिक निर्वाचन प्रणाली र अधिकार प्राप्तिको लागि संविधान संशोधन अपरिहार्य भएको उल्लेख गरे।

नागरिक उन्मुक्ति पार्टीका सचिव चन्द्रकुमार चौधरीले मोर्चाको एकताले थारु, मधेसी र आदिवासी जनजातिमा उत्साह बढाएको दाबी गरे।

मोर्चाले पहिलो चरणमा देशभर आठ ठाउँमा जनजागरण अभियान गर्ने योजना बनाएको छ। यसअन्तर्गत अब १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुने छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !