जनकपुरधाम, २० भद्र । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध विभिन्न दलका अध्यक्षहरूले संविधान संशोधन र ल्याएको भूमि विधेयक यथास्थितिमा पास गरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले तत्काल संविधान संशोधन नगरेमा र भूमि विधेयक पास भएमा मधेसमा ठूलो आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।
शुक्रवार जनकपुरधाममा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को आयोजनामा भएको “वर्तमान राजनीतिक अवस्था–जनजागरण अभियान” कार्यक्रममा सहभागी नेताहरूले मधेसका हकहितका सवालमा साझा मोर्चा बनाएर निर्णायक आन्दोलनमा जाने धारणा राखे ।

मोर्चाका संयोजक एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालको राष्ट्रवादलाई अन्धराष्ट्रवादको रूपमा प्रस्तुत गर्दै त्यसको विरुद्धमा मोर्चा एक भएर उत्रनुको विकल्प नभएको बताए । भूमि विधेयकलाई मधेसमाथि गरिएको षड्यन्त्रको संज्ञा दिँदै उनले भने, “विगतमा नदी, जंगल, सडक र जमिनमा पहाडे समुदायलाई पुनर्वास गरिएको थियो । अब सरकारले विधेयकमार्फत यसलाई कानुनी मान्यता दिन खोजिरहेको छ । यसलाई कुनै हालतमा पास हुन दिइने छैन, भएमा मधेससहित देशभर ठूलो आन्दोलन हुन्छ ।”
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्ट पार्टीलाई संघीय लोकतन्त्र र गणतन्त्रविरोधी भन्दै ती दलहरूले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले संविधानमा प्रतिनिधित्व, बजेट र विकासमा असमानता कायम भएको स्मरण गराउँदै पुनः आन्दोलन अपरिहार्य भएको उल्लेख गरे । यादवले भने, “संविधान संशोधन नगरेमा मधेसवादी दलहरू आठौँ संविधान लेख्नका लागि आन्दोलनमा उत्रिनेछन् ।”

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमाथि शासक वर्गले निरन्तर विभेद गर्दै आएको आरोप लगाउँदै निर्णायक आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए । “फुटेर होइन, जुटेर मात्र अधिकारको लडाइँ जित्न सकिन्छ,” उनले भने ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमिहीनलाई लालपुर्जा बाँड्ने नाममा चुरे र जलस्रोत नष्ट गर्ने नीतिलाई अस्वीकार गर्दै भावनात्मक एकताको आवश्यकता औंल्याए । उनले संविधान संशोधनमार्फत मात्र विभेद अन्त्य हुने बताए ।
त्यस्तै तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले विगतका गल्तीलाई आत्मसात् गरेर समीक्षात्मक ढङ्गले मोर्चालाई अघि बढाउनुपर्नेमा जोड दिँदै भूमि विधेयकविरुद्ध मधेसमै आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा. विजय सिंहले कृषि, पानी, शिक्षा, विकेन्द्रीकरण र संविधान संशोधनजस्ता मुद्दा समाधान नगरी संघीयता प्रभावकारी नबन्ने टिप्पणी गर्दै, मधेस आन्दोलनकारीबीचको फूट अन्त्य गरी जनजागरणमार्फत शक्ति संकलन गर्नुपर्ने बताए ।
लोसपा महासचिव परमेश्वर साहले आन्दोलनलाई प्रभावकारी बनाउन नेता–कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याए । जसपाकी नेतृ सुरिता साह, तमलोपा नेता असगर अली, नागरिक मुक्ति पार्टीकी प्रमिला सिंहलगायतले मधेसका उपलब्धि जोगाउन सबै दलबीच ईमानदार एकता आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !