जनकपुरधाम, २० भदौ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरुले मधेशको अधिकारको विषयमा आफुहरु एकजुट रहेको बताएका छन् ।
मोर्चाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित ‘वर्तमान राजनीतिक अवस्था –जनजागरण अभियान’लाई सम्बोधन गर्दै शीर्ष नेताहरुले मधेश विरुद्ध भइ रहेको षडयन्त्रलाई चिर्न आफुहरु एकजुट भएको र मधेश अधिकार सम्पन्न नभए सम्म यो एकजुटता कायम रहने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शासक वर्गको अन्धराष्ट्रबाद विरुद्ध पहिचानवादी शक्तिहरुको एकजुटतालाई ध्यानमा राखेर मोर्चाको गठन भएको र यो इमान्दारी पूर्वक चल्ने बताए ।
मधेशलाई समाप्त पार्न शासक वर्ग यहाँको भाषा र संस्कृतिमाथि निरन्तर प्रहार गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भूमि विधेयकको नाममा मधेशलाई मधेशमै कमजोर पार्ने षडन्त्र गरि रहेको बताए । उनले अहिले संघर्ष नगरे आउने पीढिलाई झन दासत्व जिवन जिउन बाध्य पार्ने चेतावनी समेत दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित दलहरुले विगतमा गरेको कमि कमजोरीको समिक्षा र विश्लेषण गर्दै अघि बढनु विकल्प आफुहरु संग नरहेको बताए ।

उनले विचारमा एक रहेको दलहरुलाई मोर्चाभन्दा माथि उठेर एउटै झण्डा एउटै ब्यानरमा आउन आह्वान समेत गरे ।
सरकारले ल्याएको भूमि विधेयक मधेशलाई कमजोर पार्ने षडयन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले अहिले नलडे भविष्य झन भयावह हुने चेतावनी दिए ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशीको एकता मात्र शासक वर्गलाई परास्त गर्न नसक्ने भन्दै थारु र आदिवासी जनजातिलाई समेत एकसाथ लिएर अघि बढनु पर्ने बताए ।
शासक वर्गका अतिरिक्त मधेशी आदिवासी जनजाति लगायतका समुदाय सदियौ देखी शोषणमा परेको उल्लेख गर्दै अध्यक्ष महतोले सबै मिलेर लडनु अपरिहार्य रहेको बताए । उनले मधेशलाई शोषण गर्ने सबालमा काँग्रेस एमाले र माओवादी एक रहेको उल्लेख गरे ।
त्यस्तै जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयक मधेशमा मधेशीलाई कमजोर पार्ने राजा महेन्द्रको नीतिको पुनरावृति रहेको दावी गरे । उनले भूमि विधयेक र गौर घटना लगायतको मुद्दामा मोर्चा एकजुट रहेको स्पष्ट पारे ।
कार्यक्रममा तमलोपाका अध्यक्ष वृशेषचन्द्र लालले शाषक वर्गले मधेशमाथि विभेदको सिंकजालाई थप मजबुत बनाउने अभियान शुरु गरेको बताए ।
तमलोपाका जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका उर्मिला सिंह, तमलोपाका डा. विजयकुमार सिंह, असगर अली, जसपाका कोषाध्यक्ष सुरिता साह, लोसपाका महासचिव परमेश्वर साहसहितका नेताहरुले सम्बोधन गरेका थिए ।





