जनकपुरधाम, २० भदौ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस तथा कम्युनिष्ट दलहरु देशमा संघीयता नै नरुचाएको आरोप लगाएका छन् ।

जनकपुरधाममा संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै यादवले कांग्रेस तथा कम्युनिष्ट दलहरु संघीयता समावेशिता नरुचाएकाले देश अहिले संकटमा फसेको बताए ।

अध्यक्ष यादवले मुलुकको संवैधानिक निकायलाई निक्कै कमजोर र निश्प्रभावी यीनै दलहरुले बनाएको आरोप समेत लगाए । उनले संवैधानिक निकाय नातावाद, कृपावाद तथा दान दक्षिणामा चल्यो भने त्यो मुलुकको के अवस्था हुन्छ त्यसको परिकल्पनासम्म गर्न नसकिने बताए ।

यादवले भूमि विधेयक प्रति लक्षित गर्दै यो विधेयक मधेसमा बाँकी रहेको वनजंगल लाई समेत मास्ने गरी ल्याइएको आरोप लगाए । भूमि विधेयकले मधेसीलाई मधेसकै भूमिमा अल्पसंख्यक तथा शक्तिहिन बनाउने षडयन्त्र रहेको उनको भनाई थियो ।

एक अर्को प्रसंगमा उनले हामी विभाजित भएकै कारण नेपालमा मधेसीलाई शक्ति हिन बनाउने षडयन्त्र भईरहेको बताए । उनले भने ‘फेरी त्याग र संघर्षको समय आएको छ, बराबरीको हक, बराबरको भागेदारीका साथै प्रदेशमा आफ्नो शासन तथा प्रशासन नभएसम्म आन्दोलन एक पटक फेरी गर्न तयार रह्नु पर्छ ।’

यसका लागि मधेस केन्द्रित दलहरुबीच फेरी एकिकरण हुनु आवश्यक रहेको बताए । उनले विभाजित हुँदा हाम्रो शक्ति क्षिण भएकाले शक्ति सञ्चयका लागि एक हुनुपर्छ र पहिचानकालागि फेरी संघर्षमा उतरिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !