काठमाडौं , ५ असोज  । जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पैतालादेखि शिरसम्मै कालो ड्रेस लगाएका ती युवा निकै हट्टाकट्टा देखिन्छन् । शिरमा कालो टोपी, कालै चश्मा, कालै कपडाले मुख समेत ढाकेका, कालै टिसर्ट, पाइन्ट र कालै जुत्ता लगाएका ती युवाले सुरक्षाकर्मीले जस्तो बडी प्रोटेक्सन ज्याकेट समेत लगाएको देखिन्छ । वाकिटकी समेत बोकेका ती युवाको तस्वीर अहिले सञ्जालमा भाइरल बनेको छ ।

अधिकांशले यी युवा को हुन् भन्दै प्रश्न गरिरहेका छन् केही व्यक्तिले भने जेन(जी आन्दोलनमा घुसपैठ भएको आरोप लगाउँदै यसलाई प्रमाणका रूपमा सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

वास्तवमा को हुन् त ती युवा रु यसबारे प्रहरीले अनुसन्धान गरिसकेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ती युवाको पहिचान गरेको हो ।

यसरी जेनजी आन्दोलनको मैदानमा खटिएका ती युवा ‘हामी नेपाल’ टिमकै सदस्य रहेको अपराध अनुसन्धान कार्यालय स्रोतले बतायो ।

‘जेनिश महर्जन नाम गरेका युवा रहेको खुलेको छ । ती व्यक्ति हामी नेपाल टिमकै सदस्य रहेछन्’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सार्वजनिक चासो भएर प्रश्न उठेपछि हामीले अनुसन्धान गर्दा यो कुरा पत्ता लाग्यो ।’

प्रहरीले उक्त कुरा बताएपछि यसबारे अनलाइनखबरले हामी नेपाल टिमसँग पनि बुझेको छ । हामी नेपाल टिमका संयोजक सुदन गुरुङले प्रहरीले जानकारी दिए जस्तै ती युवा जेनिश गुरुङ रहेको बताए ।

‘ऊ हाम्रै टिमको २१ वर्षीय जेनिश मजर्हन भन्ने भाइ हो,’ गुरुङले अनलाइनखबरसँग भने ।

त्यसो भए आन्दोलनमा उनी यस्तो पहिरनमा किन पुगे त रु खासमा, यो उनको व्यक्तिगत रूचिका कारण रहेछ । जाजरकोट भूकम्पको बेला जेनिश उद्धार तथा राहतका लागि जाजरकोट पुगेका रहेछन् ।

राहत र उद्धारको काममा खटिंदा उनले त्यतिबेला सेनाले यस्तै प्रकृतिको ड्रेस लगाएर मैदानमा खटिएको देखेछन् । उक्त पहिरन निकै मन परेको जेनिशले बताएका संयोजक गुरुङ सुनाउँछन् ।

त्यसपछि उक्त ड्रेस किनेर जेनिशले लगाएको उनको भनाइ छ । योसँगै ती युवाले वाकिटकी पनि बोकेका थिए । उक्त वाकिटकी हामी नेपाल टिमका तीन जनासँग भने बताइएको छ ।

जेनजी प्रदर्शनका दौरान एउटा वाकिटकी जेनिश, अर्को मेडिकल टिम र अर्को एम्बुलेन्सवालाले बोकेको हामी नेपाल टिमले बताएको छ ।

जेनजी प्रदर्शनका बेला जेनिशको जिम्मेवारी घाइतेलाई उद्धार गरेर एम्बुलेन्ससँग सम्पर्क गरी अस्पताल पुर्‍याउने रहेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !