जनकपुरधाम, ७ मंसिर । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपा विभाजनको संघारमा पुगेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट ७ जना प्रतिनिधिसभा सदस्य सहित पार्टी विभाजन गरेको जसपा डेढ वर्ष पछि आफै विभाजनको संघारमा पुगेको छ ।
विचार मिल्ने दल संग एकता वा सहकार्य गर्ने निर्णय गरेको जसपा पार्टी एकताकै विषयमा विभाजन हुन लागेको हो ।
पार्टी एकता एवं मोर्चाबन्दीका लागि संघीय परिषदका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन गरेको वार्ता समितिले नेपाली कम्युनिष्ट पार्टी संग एकता गर्ने सहमति गरे लगतै पार्टी अध्यक्ष अशोक राइले कुनै समाजिक संजाल मार्फत कुनै पार्टी संग एकताको सहमति नभएको प्रतिक्रिया दिएका छन ।
उनले समाजिक संजालमा लेखेका छन ,‘ जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका बीचमा सबैकुरा मिलेको र एकताका लागि हस्ताक्षर गर्न मात्र बाँकी छ भनेर केही नेताहरूबाट आएको अभिव्यक्तिप्रति मेरो ध्यानाकर्षण भएको छ । पार्टीको बैठकमा छलफल र निर्णय नगरी कसैलाई प्रवेश गर्न मनलागेकै भरमा पार्टी एकता हुन नसक्ने कुरा प्रष्ट पार्न चाहान्छु। तसर्थ औपचारिक बैठकमा निर्णय नभएको बिषयमा भ्रम छरेर पार्टीभित्र बिभाजन ल्याउने काम नगर्न सबैलाई अनुरोध साथ सचेत गराउदै सम्पूर्ण पार्टी सदस्य र समर्थक हरूलाई पार्टीमा दृढताकासाथ कृयासिल रहन अनुरोध गर्दछु। धन्यवाद!!’
अध्यक्ष राईको सार्वजनिक प्रतिक्रियाले जसपा विभाजनको संघारमा पुगेको स्पष्ट भएको छ । उनले कसैलाई पार्टी प्रवेश गर्न मन लागेकै भरमा पार्टी एकता नहुने बरु जान चाहनेको लागि खुला रहेको स्पष्ट भएको छ।
संघीय परिषद अध्यक्ष श्रेष्ठ जसरी पनि नेकपामा जाने मनस्थितिमा पुगि सकेका छन । शनिवारको बैठकमा वार्ता समितिको तर्फ बाट श्रेष्ठ सहित रेणु यादव सहित पुगेका थिए । तर उनको यो प्रयासलाई अध्यक्ष राइ सहित महासचिव इस्तियाक राइनले विफल बनाउदै आएका छन ।
यसैबीच राजेन्द्र श्रेष्ठले संचारमाध्यमलाई प्रतिक्रिया दिदै एकताको विषयमा केन्द्रिय समिति वा कार्यकारिणीमा आफु छलफल चलाउन चाहेपनि अध्यक्षले बैठक बोलाउन आनाकानी गरि रहेको बताएका छन।
अध्यक्ष र संघीय अध्यक्ष विचको क्रिया प्रतिक्रियाले जसपा विभाजन हुने निस्चित भएको छ ।





