भागचरण यादव
जनकपुरधाम २१ मंसिर । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि जनता समाजवादी पार्टी (जसपा), नेपालले आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, पूर्ण समावेशी संसद गठन, महिला दलितका लागि आरक्षित निर्वाचन क्षेत्र, राज्यका सम्पूर्ण निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने, किसानका लागि मलखादको उचित व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत २२ बुँदे माग अघि सार्दै देशभर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ।
जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न धर्ना कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव दीपक कार्की, प्रदेश सांसद तथा कार्यकारिणी सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामआशिष यादव, प्रदेश सांसद किरण साह, पूर्व सांसद तथा दलित मुक्ति संघका केन्द्रीय अध्यक्ष चमेली देवी दास, केन्द्रीय सदस्यहरू अरुण सिंह मण्डल र विमल साहलगायत पार्टीका अगुवा नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
धर्नामा सहभागी नेताहरूले पार्टीले उठाएका मागहरू जनताको हकअधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेका बताउँदै माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिइने चेतावनी दिएका छन्।





