जनकपुरधाम २१ मंसिर । समान जनसङ्ख्याको आधारमा संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग लगायत विभिन्न ३५ सुत्रिय माग राख्दै जनता समाजवादी पार्टी नेपाल महोत्तरीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

आइतबार दिउँसो साढे १२ बजेदेखि तीन बजे सम्म जसपा नेपाल महोत्तरी समितिको अगुवाईमा जसपा समर्थिक नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडी धर्नामा बसेको जसपा नेपाल महोत्तरीका अध्यक्ष रामनरेश रायले बताउनुभयो ।

अध्यक्ष रायका अनुसार यसअघि शुक्रबार पनि यसैगरी आफ्ना माग उल्लेखित ब्यानर, पम्पलेट र प्लेकार्ड बाेकेर जसपा नेपाल समर्थिक नेता कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडि धर्ना दिएका थिए ।

भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधीत्व सुनिश्चित गर्नु पर्ने, समान जनसङ्ख्याका आधारमा ससदीय प्रादेशिक निर्वाचन क्षेत्र पुननिर्धारण गर्नु पर्ने , प्रदेशमा स्वशासन र सङ्धमा साझेदारी प्रणालीको व्यवस्था गर्नु पर्ने, संविधान संशोधन अथवा पुनरावलोकन गरी राष्ट्रिय-जातीय पहिचानको आधारमा गर्नु पर्ने र राज्य पुनसंरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा (१०+१) हुने गरी राज्यको पुर्नसंरचना गर्नु पर्ने माग हाम्रो पार्टीको रहेको जसपा महोत्तरी जिल्ला अध्यक्ष रायले उल्लेख गर्नुभयो ।

यसैगरी दलित र महिलाहरूको छुटै आरक्षित ससदीय-प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था, समानुपातिक समावेशी प्रतिनिधीत्व हुने संसदको व्यवस्था, राष्ट्रिय सभालाई प्रादेशिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी हुने गरी बनाउनु पर्ने माग रहेको उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारको व्यवस्था, स्थानीय तहको निर्वाचन गैर–दलिय आधार चयन, राज्यद्वारा सेवासुविधा, अवसर, साधन स्रोत, सत्ता र शक्तिको पहुँचमा समानुपातिक प्रतिनिधीत्व र सामाजिक न्यायको व्यवस्था, जेनजी (युवा पुस्ता) आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूको सम्बोधन, जेनजी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण हिंसा, हत्या, आगजानी जस्ता क्रियाकलापको छानबिन गरी कानुन बमोजिम कारबाही, अल्पसङ्ख्यक समुदायका लागि स्वायत क्षेत्र, संरक्षित र विशेष क्षेत्रको निर्धारण, भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता , भ्रष्टाचारीहरुलाई कानन बमोजिम कारबाही गर्नु पर्ने लगायतको मागहरू पनि जसपा नेपालको रहेको अध्यक्ष रायले बताउनुभयो ।

त्यसैगरी शिक्षा र स्वास्थ्य सेवामा माफिया र व्यापारीकरण बन्द गर्नु पर्ने, समान एवं व्यवसायीक गुणात्मक शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको व्यवस्था गर्नु पर्ने,.विपन्न वर्ग तथा दलित र महिलाहरूका लागि निःशुल्क शिक्षा, प्राविधिक तालिम र रोजगारीको व्यवस्था गर्नुपर्ने, विगतका आन्दोलनको बेला गठन गरिएका न्यायिक छानबिन आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, राजनितीक नियुक्तिहरूमा भागबण्डा अन्त्य गर्नुपर्ने,  योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा समानुपातिक समावेशी हुने नियुक्तिको व्यवस्था गर्नु पर्ने, गरिब, असहाय, भूमिहीन, सुकुम्वासी, किसान र मजदुरको समस्या समाधान गर्नुपर्ने, वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई आफ्नै जिल्लामा बासको व्यवस्था गर्नु पर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कामकाजी भाषामा बहुभाषिक नीतिको कार्यान्वयन गर्नु पर्ने, शिक्षण माध्यम भाषाको रूपमा बहुभाषिक नीतिको कार्यान्वयन गर्नु पर्ने, युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवालाई पुँजी र तालिमको व्यवस्था गर्नु पर्ने, युवालाई रोजगार व्यवस्था नहुन्जेलसम्म वेरोजगारी भत्ताको व्यवस्था , प्रदेश प्रहरी, प्रदेश कर्मचारी, प्रदेश कानुन लगायतको व्यवस्था, समावेशी लोकतन्त्र र सामाजिक न्याय कार्य गर्नका लागि आवश्यक कानुन निर्माण, वैज्ञानिक भू–उपयोग नीति लागु गरी कृषि क्रान्तिको माध्यमवाट कृषिको व्यवसायीकरण, अत्यन्त गरिब र विपन्न वर्गका लागि सस्तो दरमा खाद्यान्न उपलब्ध गराउन रासन कार्डको व्यवस्था र ऐतिहासिक मधेश जनविद्रोह जनआन्दोलन तथा थरूहट लगायतका आन्दोलनकारीहरू माथि लगाइएका मुद्दाहरू खारेज गरी राजबन्दीहरूलाई रिहाई गर्नु पर्ने माग समेत जसपा नेपालको रहेको उहाँले बताउनुभयो ।

हाम्रो मागहरू तत्काल पुरा गर्न गराउन शुक्रबार र आइतबार दुई दिने धर्ना कार्यक्रम आयोजना गरिएको जसपा नेपाल महोत्तरी अध्यक्ष रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !