काठमाडौं ,मंसिर २६ । नेकपा(एमाले) को ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला पार्टी नेतृत्वले उद्घाटन समारोहमा करिब तीन लाख नेता–कार्यकर्ता उपस्थित हुने दाबी गरेको छ। शुक्रबार भक्तपुरको सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले महाधिवेशन तयारी, व्यवस्थापन र कार्यक्रमका मुख्य एजेन्डाबारे जानकारी गरायो।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठका अनुसार समग्र तयारी ९० प्रतिशत सकिएको छ। “साउन्ड सिस्टमदेखि सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ,” उनले बताए। उनले सल्लाघारी नै महाधिवेशनका लागि उपयुक्त स्थल भएको र भव्य मञ्च निर्माणको काम लगभग पूरा भएको जानकारी दिए।
त्यस्तै, पार्टी केन्द्रीय सदस्य राजन भट्टराईले उद्घाटन सत्रमा तीन लाखजति नेता–कार्यकर्ता उपस्थिति हुने विश्वास व्यक्त गरे। उनका अनुसार यो महाधिवेशनसँगै प्रतिशोधविरुद्ध अभियान र संविधान तथा व्यवस्थाको रक्षा गर्ने “महाअभियान” सुरु हुनेछ।
यसपटक विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिएको भए पनि शुभकामना पठाउन अनुरोध गरिएको उनले बताए। साथै १६ राजनीतिक दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने तयारीमा रहेको जानकारी पनि दिइयो।
पार्टीका नेताहरूका अनुसार विधान महाधिवेशनले नीतिगत निर्णयहरू पहिले नै पारित गरिसकेकाले यो महाधिवेशन पूर्ण रूपमा नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ।
अध्यक्ष पदका लागि यसपटक पनि अध्यक्ष केपी शर्मा ओली पुनः चयन हुने तयारीमा छन्, भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई चुनौती दिँदै प्रतिस्पर्धामा उत्रिएका छन्।
भक्तपुरमा तीन दिनसम्म चल्ने महाधिवेशनलाई एमालेले संगठनात्मक रूपमा महत्वपूर्ण मोडको रूपमा हेरेको छ।





