काठमाडौं, ५ पुष । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको एघारौँ महाधिवेशनमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धा वातावरण नबनेको बताएका छन्।
एमाले नेता ईश्वर पोखरेल समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालन र निर्वाचनसम्म पार्टी संरचनाहरूको दुरुपयोग भएको बताए।
“प्रतिनिधि छनोटदेखि बन्दसत्रभित्र भएका क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ। संगठन विभाग लगायतका निकायहरूको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने प्रयास भयो,” उनले भने।
भट्टराईले आगामी दिनमा यस विषयको थप समीक्षा हुने पनि बताएका छन्। २६, २७ र २८ गते केन्द्रीय कमिटी बैठकमा यसबारे समिक्षा गर्ने तयारी रहेको उनले बताए।
यद्यपि, उपमहासचिव भट्टराईले लोकतान्त्रिक अभ्यासमा सहभागी भएर आएको परिणाम स्वीकार गर्ने स्पष्ट पारे।
“आजको भेलाबाट केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई। उहाँले ल्याउने सकारात्मक प्रस्तावहरूलाई हामी समर्थन गर्दछौँ। तर पार्टी एकतालाई खण्डित गर्ने, पक्षपातपूर्ण वा गुटबन्दी गर्ने प्रस्ताव आएभने त्यसको प्रतिवाद गर्नेछौँ,” उनले भने।
भट्टराईले आगामी निर्वाचन र बाह्य प्रतिस्पर्धामा पार्टीको पक्षमा एकजुट रहने पनि बताए।
“पार्टीभित्र हामी कुनै अराजनितिक वार्गेनिङ गर्दैनौँ। तर राजनीतिक मुद्दामा सधै पार्टीभित्रको आन्तरिक संघर्षमा सहभागी हुनेछौँ। विभाजन होइन, निरन्तर संघर्ष हाम्रो लाइन हुनेछ,” उनले जोड दिए।





