काठमाडौं, ५ पुष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि तर्क र बहानामा चुनाव सार्ने काम नगर्न सरकारलाई कडा चेतावनी दिएका छन्। निर्वाचन सार्ने प्रयास भए आफूहरू चुप लागेर नबस्ने पनि उनले स्पष्ट पारेका छन्।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरि चुनाव सार्न खोजिए संविधान मिचिने जिकिर गरे।

उनले भने, ‘हामी अहिले यो देशलाई संकटबाट बचाउने र मुक्त गर्ने उद्देश्यले तागत एकीकृत गरिरहेका छौं। हामीले सहज ढंगले निर्वाचन सम्पन्न होस् भनेका छौं। सरकारलाई भन्न चाहन्छौं– कुनै पनि तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोस्।’

प्रचण्डले यसअघि केही हदसम्म संविधान मिचिने काम भए पनि देशको अवस्थालाई ध्यानमा राख्दै आफूहरूले सहयोग गरेको बताए।
‘एक पटक त संविधान केही हदसम्म मिचिइसकेको छ। तर देशको असहज अवस्थालाई हेरेर हामीले अन्तरिम सरकार बनाउने प्रक्रियामा सहयोग गर्‍यौं,’ उनले भने, ‘तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने पुनः संविधान मिचिन्छ।’

 

उनले निर्वाचन सार्ने प्रयास भए आफूहरू चुप लागेर नबस्ने चेतावनी दोहोर्‍याए।
‘केही अहंकारी र दम्भी प्रवृत्तिका मानिसहरूले धम्कीको भाषा प्रयोग गरिरहेका छन्। म आज धम्की दिन चाहन्नँ, तर शान्तिपूर्ण तरिकाले समयमै निर्वाचन होस्,’ प्रचण्डले भने।

उनले ६ महिना वा एक वर्षसम्म निर्वाचन सार्ने हल्ला सुन्नमा आएको पनि उल्लेख गरे।
‘सरकारले यदि ६ महिना, एक वर्ष समय थप्ने निर्णय गर्‍यो भने देश फेरि दुर्घटनामा पर्छ,’ उनले चेतावनी दिँदै भने, ‘त्यस्तो अवस्थामा नेपाली कम्युनिस्ट पार्टी रमिते बनेर बस्ने छैन।’

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !