काठमाडौं, ९ पुष । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेससहितका ६८ सांसदले हस्ताक्षरसहितको पूरक रिट दायर गरेका छन् । आज उक्त रिटमा पेसी तोकिएको छ।
सांसदहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा हस्ताक्षर गरेका हुन् । पूरक रिटमा कांग्रेसका ६५ सांसद, जनता समाजवादी पार्टीका हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलको पनि समर्थन रहेको छ।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती मार्फत मङ्गलवार रिट सर्वोच्च अदालतमा वारेसको माध्यमबाट दर्ता गरिएको थियो। कांग्रेसका आठ सांसदले मङ्सिर २३ गते रिट दर्ता गरिसकेका थिए। आज थप ६० सांसदको हस्ताक्षर दर्ता भएपछि कुल ६८ पुगेको खातीले बताए।
यसअघि एमालेका ७५ सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका थिए। यसरी दुवै दलका हस्ताक्षर मिल्दा बहुमत सांसदको संख्या १४३ पुगेको छ, जसले २७५ सदस्यीय प्रतिनिधिसभामा आवश्यक १३८ सांसदको बहुमत पुर्याउँछ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र सांसद दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले पनि रिटमा हस्ताक्षर गरेका छन्।
एमालेले संसदीय दलको बैठकबाट निर्णय गरी पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा रिट दायर गरेको थियो। बहुमत सांसदको मागपछि प्रतिनिधिसभा पुनर्स्थापनाको प्रक्रिया सहज हुने कांग्रेस–एमालेको बुझाइ छ।
यो कदमले संसद पुनर्स्थापनाको राजनीतिक प्रक्रियामा नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ, र राजनीतिक दलहरूबीचको सहकार्य र रणनीतिलाई पनि परीक्षण गर्ने संकेत देखिन्छ।





