भागचरण यादव
जनकपुरधाम १३ पुष । मधेश प्रदेशका नवनिर्वाचित सभामुख माननीय रामअशिष यादवज्यूलाई मधेश खेलकुद परिषदका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
मधेश खेलकुद परिषदका सदस्य–सचिव श्री शिवजी प्रसाद कानुज्यूको नेतृत्वमा परिषदका कार्यालय प्रमुख, परिषद सदस्यहरू, भलिबल प्रशिक्षक, तालिम तथा प्रशिक्षण विभाग प्रमुखलगायत परिषदका कर्मचारीहरूको टोलीले सभामुख यादवज्यूलाई भेट गरी सम्मानस्वरूप खादा र माल्यार्पणसहित बधाई ज्ञापन गरेको हो।
उक्त अवसरमा परिषदका प्रतिनिधिहरूले माननीय सभामुख यादवज्यूको नेतृत्वमा मधेश प्रदेशमा खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रोत्साहन तथा संस्थागत सुदृढीकरणमा सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे। साथै खेलकुद पूर्वाधार विकास र नीतिगत सहयोगका लागि सभामुखज्यूबाट आवश्यक मार्गदर्शन र सहकार्यको अपेक्षा गरिएको जनाइएको छ।
सभामुख रामअशिष यादवज्यूले बधाई तथा शुभकामनाका लागि मधेश खेलकुद परिषदप्रति आभार व्यक्त गर्दै खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सभाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।





