जनकपुरधाम १३ पुष । फलगुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट जनमत पार्टीले इन्द्रजीत यादवको एकल नाम सिफारिस गरेको छ।
आइतबार क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य यादवलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।
बैठकमा संगठन विस्तार, चुनावी रणनीति र स्थानीय मुद्दाबारे छलफल भएको जनाइएको छ। सहभागी नेताहरूले यादवको उम्मेदवारीले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
मिथिला बिहारी नगरपालिका–६ सिरसिया निवासी यादव मधेसका मुद्दा, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डा बनाएर चुनावी तयारीमा जुट्ने जनाइएको छ।





