काठमाडौं, २६ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन्। रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै उनले पूर्वी रुकुमबाट आफ्नो उम्मेदवारी लगभग निश्चित भइसकेको बताएका हुन्।
सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमका जनतासँग दीर्घकालीन सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले भने, “तपाईंहरूको लागि हेडक्वाटरको ढोका सधैं खुला रहनेछ। पहिलेभन्दा अझ बढी तपाईंहरूको सुख–दुःख र विकास निर्माणका काममा साथ दिनेछु।”
उनले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य आवश्यक भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे। पूर्वी रुकुमलाई तत्कालीन नेकपा (माओवादी) को बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ। पछिल्लो निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट पूर्णबहादुर घर्ती भारी मतका साथ विजयी भएका थिए।
प्रचण्डले हालसम्म कुनै पनि निर्वाचन क्षेत्रमा लगातार दोहोरिएर चुनाव नलडेको इतिहास छ। २०६४ सालको संविधानसभा निर्वाचनमा उनले काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–३ बाट उम्मेदवारी दिए पनि काठमाडौंमा पराजित भई सिराहाबाट निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा एमालेसँग पार्टी एकता गरी चितवन–३ बाट निर्वाचित भएका प्रचण्डले २०७९ को निर्वाचनमा भने चितवन छाडेर गोरखा–२ रोजेका थिए। त्यहाँ जनयुद्धकालीन सहयात्री तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको समर्थनमा उनी विजयी भएका थिए।
पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणालाई आगामी राजनीतिक समीकरण र स्थानीय राजनीति दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।





