भागचरण यादब
जनकपुरधा १ माघ । (पिडारी) स्थित प्राचीन श्री सीताराम विवाह मण्डप परिसरमा हिन्दु स्वयंसेवक संघ नेपाल, बैदेही शाखाको आयोजनामा समरसता उत्सव भव्य रूपमा सम्पन्न भएको छ। मकर संक्रान्तिको अवसर पारेर आयोजना गरिएको उक्त उत्सवमा समाजका विभिन्न वर्ग, उमेर र समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य समाजमा समता, ममता र सामाजिक समरसता प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्। उत्सवका क्रममा सहभागीहरू एकै स्थानमा भेला भई सामूहिक रूपमा कार्यक्रम अवलोकन गर्नुका साथै आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरिएको थियो।
समरसता उत्सवअन्तर्गत महाप्रसाद वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले समान रूपमा प्रसाद ग्रहण गर्दै सामाजिक विभेद अन्त्यको सन्देश दिएका थिए। कार्यक्रममा बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकको सक्रिय सहभागिता देखिनु उत्सवको विशेष आकर्षण बनेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र एकताको महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा आपसी विश्वास र सहकार्य बढाउने बताए। उनीहरूले धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक समरसताको माध्यमका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
हिन्दु स्वयंसेवक संघ नेपाल, बैदेही शाखाले आगामी दिनहरूमा पनि समाजलाई एकताबद्ध बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





