काठमाडौं , ५ माद्य । वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहसहित दुई पूर्वमन्त्री नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईसहित ठूलो संख्यामा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
गए राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो । एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओलीले खादा लगाएर सिंह, यादव र राईसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
एमाले केन्द्रीय सदस्य तथा पर्सा जिल्ला संयोजक प्रभु हजारा अनुसार प्रवेश गर्ने नेताहरूमा अशोक राई नेतृत्वको जसपाका उपमहासचिवसमेत रहेका प्रदीप यादव र इस्तिहाक राई रहेका छन् । उनीहरूको प्रवेशलाई पर्सा र मधेश प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
यसैगरी, वीरगन्ज महानगरपालिकाका ७ जना वडाध्यक्ष पनि मेयर सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह एमालेमा प्रवेश गरेसँगै पर्सा जिल्लामा जसपा लगायत अन्य दलबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिहरू ठूलो संख्यामा एमाले प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिइएको छ ।
पर्सा जिल्ला सचिव महेश दासका अनुसार आज वीरगन्जमा आयोजना हुने विशेष कार्यक्रममा अन्य स्थानीय तह तथा विभिन्न निकायमा निर्वाचित पदाधिकारीहरू पनि एमालेमा प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामै शीर्ष तहका नेताहरूले पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नुले मधेश प्रदेशको राजनीतिमा तरंग ल्याएको छ । एमाले स्रोतका अनुसार प्रदीप यादवलाई पर्सा–१ र इस्तिहाक राईलाई बाँके–२ बाट उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
एमाले नेतृत्वले यी प्रवेशहरूले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।





