ओम प्रकाश यादव
रौतहट, १० माघ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यसपटक पुनः रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका नेपाल यसपटक आफ्नो राजनीतिक विरासत जोगाउने दाउमा देखिएका छन्। तर २०७९ को निर्वाचन जति सहज अवस्था यसपटक नभएको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ।

माधव नेपाल विरासत जोगाउने प्रयासमा छन् भने यसपटक जनता समाजवादी पार्टी ९जसपा० नेपालका योगेन्द्र राय यादव, नेकपा एमालेका अजय कुमार गुप्ता र नेपाली कांग्रेसका अनिल कुमार झा जितको दाउमा छन्। यी तीनै उम्मेदवार माधव नेपालको राजनीतिक वर्चस्व यसपटक जसरी पनि तोड्ने तयारीमा देखिन्छन्।

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएकाले तीन दलको मतको कारण माधव नेपाल विजयी भएका थिए। तर गठबन्धन हुँदाहुँदै पनि नेपाल झिनो मतान्तरले मात्र विजयी भएका थिए। त्यतिबेला एमालेका अजय कुमार गुप्ताले कडा टक्कर दिएका थिए।

यसपटकको निर्वाचनमा भने माधव नेपालको पार्टीले कुनै पनि दलसँग गठबन्धन गरेको छैन। नेपाल एक्लै चुनावी मैदानमा उत्रिएका छन्। विभिन्न कारणले गर्दा यसपटक उनको जितको सम्भावना कमजोर देखिएको चर्चा व्यापक छ।
भ्रष्टाचार मुद्दा विचाराधीन रहनु, युवापुस्ताको नयाँ र युवा अनुहारप्रतिको आकर्षण, पटक–पटक जितेर पनि जनताको बीचमा सक्रिय नदेखिनु, झूटा आश्वासन दिएको आरोपजस्ता कारणले माधव नेपाललाई यसपटक चुनाव जित्न कठिन हुने विश्लेषण गरिँदै आएको छ। भ्रष्टाचारको दाग बोकेर पनि नेपाल पुनः निर्वाचनमा होमिएका छन्।

 

माधव नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा अझै विचाराधीन अवस्थामा छ। यदि अदालतले दोषी ठहर गरेमा निर्वाचन जिते पनि उनले संसद सदस्यका रूपमा काम गर्न नपाउने कानुनी अवस्था छ। संसद पद नै नरहने सम्भावना भएकाले माधव नेपाललाई मत दिनु जोखिमपूर्ण हुने मतदाता बताउँछन्।

यही पृष्ठभूमिमा यसपटक आम मतदातामा नयाँ र युवा उम्मेदवारलाई अवसर दिनुपर्ने मनोविज्ञान बढ्दै गएको देखिन्छ। पुराना नेताहरूले देश बनाउन नसकेको भन्दै केही समयअघि भएको आन्दोलनपछि पुराना अनुहारलाई पराजित गर्नुपर्ने आवाज देशव्यापी रूपमा उठेको छ।

यसपटक जनताबीच सबैभन्दा लोकप्रिय उम्मेदवारका रूपमा जसपा नेपालका योगेन्द्र राय यादव देखिएका छन्। योगेन्द्र यादवले जसपा नेपालबाट उम्मेदवारी दिएका हुन्। २०७४ सालको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी पाँच वर्षसम्म मधेश प्रदेश सरकारमा राज्यमन्त्री रहेर जनमुखी काम गरेको स्थानीय बताउँछन्।

राज्यमन्त्री रहँदा उनले जनसेवामा कुनै कसर बाँकी नराखेको, गरिबदेखि धनीसम्म सबैको सुख–दुःखमा साथ दिएको, पूजा–पाठ, विवाह, छट्ठीयार, काजकिरिया, भोजभतेरलगायत सबै सामाजिक कार्यक्रममा उपस्थित हुने नेता भएको कारण जनता माझ उनको लोकप्रियता उच्च रहेको बताइन्छ। आपत्–विपत् पर्दा पीडितको घरमै पुगेर समस्या समाधानको पहल गर्ने उनको कार्यशैलीले यसपटक बहुमतसहित जिताउने मनस्थिति मतदातामा बनेको चर्चा छ।

सबै उम्मेदवारमध्ये उमेरका हिसाबले योगेन्द्र राय यादव सबैभन्दा कान्छा उम्मेदवार हुन्। यही कारण उनी युवापुस्ताको पहिलो रोजाइमा पर्न सफल भएका छन्। विशेषगरी जेन्जी युवाहरूको बीचमा उनको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ। युवाहरू परिवर्तन, पारदर्शिता र प्रत्यक्ष पहुँच भएका प्रतिनिधि खोजिरहेका बेला योगेन्द्र राय यादवलाई त्यसको उपयुक्त विकल्पका रूपमा हेरिएको छ।

प्रदेश सभा सदस्यका रूपमा पाँच वर्ष कार्यकाल पूरा गर्दा उनले जनमुखी काम, विकास निर्माणमा सक्रियता र जनतासँगको निरन्तर सम्पर्कमार्फत युवाहरूको विश्वास जित्न सफल भएको स्थानीयहरूको भनाइ छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका विषयमा उनले उठाएका आवाज र देखाएको सक्रियताले युवापुस्तालाई आकर्षित गरेको बताइन्छ।

विशेषगरी समस्या पर्दा फोन नउठ्ने होइन, प्रत्यक्ष उपस्थित भएर समाधान खोज्ने नेताका रूपमा योगेन्द्र राय यादव चिनिँदै आएका छन्। यही व्यवहारका कारण राजनीतिप्रति वितृष्णा बढ्दै गएको युवापुस्तामा पनि उनीप्रति सकारात्मक धारणा बनेको देखिन्छ। “पुराना नेताभन्दा काम गर्ने र जनतामाझ रहने नेता चाहिन्छ” भन्ने सोच बोकेका जेन्जी युवाहरू यसपटक संगठित रूपमा योगेन्द्र राय यादवलाई अवसर दिनुपर्ने निष्कर्षमा पुगेका छन्।

युवाहरूले सामाजिक सञ्जालमार्फत समेत उनको पक्षमा खुला समर्थन जनाउन थालेका छन्। विकास, रोजगारी, शिक्षा सुधार र भ्रष्टाचारविरुद्धको स्पष्ट धारणा भएका कारण उनी नयाँ पुस्ताको प्रतिनिधि उम्मेदवारका रूपमा स्थापित हुँदै गएको विश्लेषण गरिन्छ।

यसपटकको निर्वाचनमा योगेन्द्र राय यादव केवल अनुभवी नेतामात्र नभई, युवाको भावना बुझ्ने, युवासँगै हिँड्ने र भविष्यप्रति स्पष्ट दृष्टिकोण राख्ने उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। यही कारण जेन्जी युवाहरूले समेत “यसपटक अवसर दिनैपर्छ” भन्ने मनस्थिति बनाएको स्थानीय राजनीतिक वृत्तले बताएको छ।

एमालेका अजय कुमार गुप्ताले पनि यसपटक माधव नेपाललाई कडा टक्कर दिने बताइन्छ। २०७९ मा झिनो मतान्तरले पराजित भएका गुप्ताका लागि यसपटकको निर्वाचन सहज भने छैन। किनकि यसपटक रास्वपाबाट राजेश चौधरी उम्मेदवार बनेका छन्, जसले गुप्ताको मत काट्ने विश्लेषण भइरहेको छ।

त्यसैगरी, संघीय सद्भावना पार्टी स्थापना गरी राजनीतिमा सक्रिय रहेका अनिल कुमार झा यसपटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्। २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका झाका लागि पनि यसपटकको चुनाव सहज देखिँदैन। कांग्रेसभित्रकै धेरै नेता–कार्यकर्ता बाहिरबाट आएका व्यक्तिलाई टिकट दिएको भन्दै असन्तुष्ट देखिएका छन्। यसले झालाई आन्तरिक असहयोगको सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

रास्वपाबाट उम्मेदवार बनेका राजेश चौधरीले पनि माधव नेपाललाई टक्कर दिने देखिए तापनि उनी चुनाव जित्ने सम्भावना कमजोर रहेको स्थानीयहरूको विश्लेषण छ। यसअघि पटक–पटक पार्टी परिवर्तन गरी प्रदेश सभा निर्वाचन लडे पनि विजयी हुन नसकेकाले उनीप्रति जनविश्वास कमजोर रहेको बताइन्छ।

यसरी रौतहट क्षेत्र नम्बर १ को निर्वाचन यसपटक निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। पुराना नेताको विरासत जोगिने कि नयाँ अनुहारको उदय हुने भन्ने प्रश्नको उत्तर निर्वाचन परिणामले दिनेछ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !