सप्तरी , १० माघ  । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन्। यो उनको नयाँ निर्वाचन क्षेत्र हो, जहाँ यादवले आफ्नो चुनावी शक्ति र लोकप्रियताको परीक्षा दिने तयारी गरेका छन्।

यादवले पहिले सप्तरी–२ बाट चुनाव जितेका थिए र त्यसपछि बारा–२ मा उपनिर्वाचन जितेर संसद पुगेका थिए। तर, सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सहकार्य नमिल्दा उनी यस पटक सप्तरी–३ सरेका हुन्।

सप्तरी–३ मा एमालेबाट ताराकान्त चौधरी, कांग्रेसबाट दिनेशकुमार यादव र रास्वपारराष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी पनि उम्मेदवार बनेका छन्। अमरकान्त चौधरी २०७४ मा सोही क्षेत्रबाट जितेका चन्द्रकान्त चौधरीका छोरा हुन् र हाल शोकमा रहेको अवस्थामा पनि सहानुभूति मत प्राप्त हुने अपेक्षा गरिएको छ।

सप्तरी–३ मा कुल २२ जना उम्मेदवार रहेका छन्, जसमा स्वतन्त्रतर्फ ८ जनासमेत छन्। त्यस्तै जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, उज्यालो पार्टी नेपाल, श्रम संस्कृति पार्टी, नेपाल जनता पार्टी, बहुजन एकता पार्टी लगायतका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

 

यो निर्वाचन क्षेत्रमा जातीय संरचना महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। यहाँ यादव समुदाय पहिलो र थारु समुदाय दोस्रो ठूलो जनसंख्या भएकोले उपेन्द्र यादव र अमरकान्त चौधरीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

सप्तरी–३ मा पाँचवटा पालिका छन्। जसपा नेपालले दुई पालिका जितेको छ, एमालेले दुई र नेकपा एस (हाल नेकपा) ले एक पालिका जितेका थिए। यस आधारमा यादवको प्रभाव र संगठन क्षमता परीक्षण हुने स्थानीय विश्लेषकहरूले बताएका छन्।

स्थानीय मतदाताले जातीय, पारिवारिक र विकास सम्बन्धी आधारमा मतदान गर्ने भएकाले उपेन्द्र यादवको जित चुनौतीपूर्ण हुने देखिन्छ। यो क्षेत्र उनका लागि साँचो चुनावी परीक्षा सावित हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !