राजविराज, २२ माघ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट तराई–मधेसमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको जनमत पार्टी आन्तरिक विभाजनको आरोपका बीच पुनः चुनावी मैदानमा उत्रिएको छ। पार्टी अध्यक्ष सीके राउतले विभाजनले पार्टीको राजनीतिक हैसियतमा असर नपर्ने दाबी गर्दै मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये १६ देखि १८ सिट जित्ने दाबी गरेका छन ।
२०७९ को निर्वाचनमा सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेपछि राउत राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। सो निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जितेको थियो। मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ७ गरी १३ सांसदसहित जनमत तेस्रो ठूलो दल बनेको थियो। केन्द्रमा सत्ताको सहयात्री बनेको जनमतले मधेस प्रदेशमा १४ महिना सरकारसमेत चलाएको थियो।
तर, एक चुनावी चक्र पूरा नहुँदै पार्टीभित्र विभाजन देखिएको छ। केही शीर्ष नेताहरूले अध्यक्ष राउतमाथि तानाशाही र परिवारवादको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन्। यस विषयमा प्रतिक्रिया दिँदै राउतले विभाजनलाई सामान्य राजनीतिक प्रक्रिया भएको बताए। “विभाजन सबै पार्टीमा देखिन्छ, यसले जनमत पार्टीलाई कमजोर बनाउँदैन,” उनले भने।
राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा लाई लक्षित गर्दै आफूलाई नयाँ शक्ति भन्दै भ्रम फैलाइरहेको आरोप लगाए। “२०७९ मै २१ सिट जितेर संसदमा पुगेको दल नयाँ हुन सक्दैन,” उनले भने। नागरिकता विधेयक, बजेट विनियोजन र भूमि सम्बन्धी विधेयकमा रास्वपाले मधेसविरोधी भूमिका खेलेको उनको दाबी छ।
सप्तरी–२ मा प्रतिस्पर्धा सहज हुने विश्वास व्यक्त गर्दै राउतले आफ्नो कार्यकालमा विकास र जनसेवामा उल्लेखनीय काम भएको दाबी गरे। “बाढी, आगलागीदेखि रोजगारी र महिला सशक्तीकरणसम्म हामी जनताको बीचमै थियौँ,” उनले भने।
मधेसका समस्या संरचनात्मक भएको उल्लेख गर्दै राउतले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउँदैमा समाधान नहुने स्पष्ट पारे। “संविधान संशोधन, अधिकार प्रत्याभूति र संघीयताको सुदृढीकरण नै हाम्रो मुख्य एजेन्डा हो,” उनले भने।
जनमत पार्टी यसपटक जनताको विश्वास र अनुभवी उम्मेदवारका साथ चुनावमा होमिएको राउतको दाबी छ।





