काठमाडौँ, ५ असार । गृह मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि ‘हेलो गृह कल सेन्टर’ (Hello Griha Call Center) स्थापना गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित सर्वसाधारणका गुनासो, उजुरी तथा सुझावहरू सङ्कलन गर्ने उद्देश्यले गुनासो व्यवस्थापन शाखाअन्तर्गत यो कल सेन्टर स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नागरिकले गृह मन्त्रालयसँग सम्बन्धित आफ्ना विषयहरू विभिन्न चारवटा माध्यमबाट दर्ता गराउन सक्नेछन् ।
गुनासो तथा सुझाव पठाउने माध्यमहरू:
१. टोल फ्रि नम्बर: १११२ (यसमा फोन गर्दा शुल्क लाग्ने छैन)
२. ईमेल: [email protected]
३. मोबाइल/WhatsApp नम्बर: ९८५१३६०६०३
४. क्यूआर कोड (QR Code): मन्त्रालयले जारी गरेको क्यूआर कोड स्क्यान गरेर पनि सिधै आफ्नो गुनासो वा सुझाव दर्ता गर्न सकिनेछ।
मन्त्रालयले आफ्नो कार्यप्रणालीलाई नागरिकमैत्री बनाउने प्रयास स्वरूप यो प्रविधिमा आधारित प्रणालीको सुरुवात गरेको हो । गृह मन्त्रालयसँग जोडिएका सुरक्षा, प्रशासन तथा अन्य सेवा प्रवाहबारे कुनै पनि गुनासो भएमा यी माध्यमहरूमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।






