काठमाडौँ, १२ असार । प्रयाङ्कका नाममा डेलिभरी ब्वाईमाथि दुर्व्यवहार गर्नेहरूकाे प्रहरीले खोजी सुरु गरेकाे छ । भिडिओ भाइरल भएपछि गृहमन्त्री सुधन गुरुङले उनीहरूलाई तत्काल कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त भिडिओमा कमेन्ट गर्दै उनले भनेका छन्, “निर्देशन दिइसकेको छ । यस्तो किसिमको दुर्व्यवहार गर्ने र प्रयाङ्क गर्नेहरूलाई हदैसम्मको कारबाही हुन्छ ।”
भाइरल भएको भिडियोमा केही युवाहरूले मधेशी समुदायका डेलिभरी ब्वाईलाई डर देखाउने, धम्की दिने र मानसिक दबाब सिर्जना गर्ने शैली देखिएको छ ।
भिडियोअनुसार सामानको रकम मागेपछि उनलाई विभिन्न कुरा भन्दै त्रसित बनाइएको थियो। आफू समस्यामा परेको महसुस गरेपछि डेलिभरी ब्वाईले सामानको पैसा समेत नचाहिने भन्दै आफूलाई जान दिन आग्रह गरेको देखिन्छ। त्यसपछि उनी त्यहाँबाट भाग्न खोज्दा दौडिने क्रममा लडेर चोट लागेको देखाइएको छ। पछि उक्त घटना ‘प्राङ्क’ भएको भन्दै माफी मागिएको बताइएको छ।
‘Jiban Oli’ नामक युट्युब च्यानलमा २४ जुन २०२६ मा सार्वजनिक गरिएको ४ मिनेट २४ सेकेन्ड लामो भिडिओ चार जना युवाले टेम्पर ग्लास अर्डर गरी सामान डेलिभरी गर्न आएका युवकमाथि अभद्र व्यवहार गरेको देखिन्छ ।
उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै सर्वसाधारणले कसैलाई गम्भीर मानसिक तनाव दिने र जातीय वा क्षेत्रीय पहिचानका आधारमा मानमर्दन गर्ने कार्यलाई कुनै पनि हालतमा कन्टेन्ट वा मनोरञ्जन मान्न नसकिने भन्दै आलोचना गरेका छन् । दुर्व्यवहारलाई मनोरञ्जनको रूपमा व्याख्या गर्न नहुने र संलग्नहरूमाथि कडा कदम चाल्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ ।
यो घटना रुकुम पश्चिममा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तर, जिल्लाको कुन स्थानमा घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त जोशीले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त युट्युब च्यानलले यसअघि पनि प्रहरीको नाम दुरुपयोग गरेर विभिन्न सामग्रीहरू निर्माण गरेको पाइएको छ । पछिल्लो भिडिओमा अक्षम्य दुर्व्यवहार गरिएको देखिएकाले संलग्नहरूलाई कानुनी दायरामा ल्याउन खोजी भइरहेको इन्स्पेक्टर जोशीले बताए ।





