सुनसरी, साउन १२ ।  सुनसरीमा दुई समुदायबीचको तनाव मंगलबार पनि कायमै छ । प्रदर्शनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने जिल्लाको सदरमुकाम इनरुवा पूर्ण रूपमा बन्द भएको छ ।

जिल्लाका विभिन्न स्थानमा हिन्दू समुदायका प्रदर्शनकारी हिन्दू बहुल क्षेत्रमा र मुस्लिम समुदायका प्रदर्शनकारी मुस्लिम बहुल क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलन नेतृत्वविहीन रूपमा फैलिएकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन चुनौती थपिएको जनाइएको छ ।
स्थिति नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको व्यापक परिचालन गरिएको भए पनि अधिकांश क्षेत्रमा तनाव कायमै रहेको छ।

स्थानीय प्रशासनले आन्दोलनरत दुवै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले शान्ति–सुरक्षा कायम गर्न प्रशासनले सबै पक्षसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको बताएका छन् ।

सुनसरीकाे देवानगञ्ज–३ को कप्तानगञ्जबाट सुरु भएको तनाव अहिले विभिन्न स्थानमा देखिएको छ । प्रशासनले नागरिकलाई संयमित रहन, कुनै पनि अपुष्ट सूचना सामाजिक सञ्जालमा नफैलाउन तथा शान्ति कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ । सुरक्षा अवस्था संवेदनशील बनेसँगै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन तथा यात्रुहरू समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !