जनकपुरधाम, १६ साउन । केन्द्रीय गृहमन्त्री सुधन गुरुङ जनकपुरधाममा आन्दोलरत पक्षसँग छलफल सुरु गरेका छन् । सुनसरी, सिरहा हुँदै शनिबार धनुषा आइपुगेका गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालयमा हिन्दू आन्दोलनकारीहरूसँग छलफल गरिरहेका छन् ।

सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षाको अवस्था सहज बनाउन उनले छलफल अघि बढाएका हुन् । छलफलमा आन्दोलनरत पक्ष, सांसद्हरू, जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख, सुरक्षा निकायका प्रमुखहरूलगायत सहभागी छन् ।

हिन्दू पक्ष विभिन्न माग राखी विरोधमै रहेकाले जनकपुरधाम आज बिहानबाट कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी राखिएको छ ।

सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएपछि मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएको थियो । त्यसपछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि तनाव थप बढेको थियो ।

घटनापछि मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन, निषेधाज्ञा र कर्फ्युजस्ता सुरक्षा उपाय अपनाइएको थियो । पछिल्लो समय प्रशासन र आन्दोलनरत पक्षबीच संवाद सुरु भएपछि केही स्थानको अवस्था क्रमशः सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ ।

गृहमन्त्री गुरुङ मधेशका विभिन्न जिल्लाको स्थलगत अवस्था बुझ्दै सुरक्षा संयन्त्रसँग समन्वय गरिरहेका छन् । उनले संवाद र सहमतिका माध्यमबाटै उत्पन्न समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रशासनले जोखिमपूर्ण क्षेत्रको निगरानीलाई निरन्तरता दिँदै आवश्यक सुरक्षा व्यवस्था कायम राखेको छ । केही जिल्लामा कर्फ्यु खुकुलो बनाइएको भए पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छैन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !