काठमाडौं , ३ भदौ । संस्थापन इत्तर पक्षलाई काउन्टर दिदै नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै गर्ने निर्णय गरेको छ। साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले यसअघि तय गरिएको महाधिवेशनको कार्यतालिकालाई यथावत् राख्दै तयारी अघि बढाउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

भदौमा हुने वर्षालाई ध्यानमा राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न केन्द्रीय निर्वाचन समितिलाई अधिकारसमेत दिइएको छ। महाधिवेशनको समग्र व्यवस्थापनका लागि सभापति थापाको संयोजकत्वमा मूल समिति गठन गरिएको छ।

त्यस्तै, पार्टीको विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। महाधिवेशनमा सभापति थापाले मूल राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृति तथा रूपान्तरणसम्बन्धी प्रस्ताव, उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको छ।

निर्धारित तालिका अनुसार भदौ २ गते देखी १० गते सम्म निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम , भदौ ११ गते जिल्ला जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ १६ देखी २० सम्म वडामा अभिमुखीकरण तालिम चलाउने, भदौ मसान्त सम्म जनसम्पर्क समितिहरुको अधिवेशन सम्पन्न गर्ने, भदौ २४ गते देशभरिकै वडाको अधिवेशन सम्पन्न गर्ने, २७ गते नगर , गाउँ अधिवेशन सम्पन्न गर्ने, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने र सोही दिन महाधिवेशन प्रतिनिधि समेत चयन गर्ने, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको हो ।

संस्थापन इतर पक्षले छुट्टै महाधिवेशन अभियान संचालन गर्न लागेको बेला संस्थापन पक्षले निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न लागेको हो ।

कांग्रेसको इतर पक्षले पनि १५औँ महाधिवेशनको तयारी थालेको छ। इतर पक्षले नेता शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको जनाएको छ।

महाधिवेशनको मिति र तयारीलाई लिएर कांग्रेसभित्र विभिन्न पक्षबीच छलफल र गतिविधि तीव्र भइरहेका बेला केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयले निर्धारित समयमै महाधिवेशन गर्ने पार्टीको प्रतिबद्धता दोहोरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !