बारा, ३ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुराबाट तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया बालिका गरिमा चौधरी मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब ८ः३० बजेदेखि बेपत्ता भएकी थिइन्। परिवार र स्थानीयवासीले खोजी गर्ने क्रममा मङ्गलबार साँझ घरबाट करिब १५० मिटर दक्षिणतर्फ रहेको लामो समयदेखि खाली रहेको घरमा उनको शव फेला परेको हो।

उक्त घरबाट दुर्गन्ध आएपछि स्थानीयवासीले झ्यालबाट हेर्दा बालिका मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बालिकाका कपडासमेत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि यौन हिंसा भएको हुन सक्ने आशंका गरिएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीले घटनाको प्रकृति हेर्दा यौन हिंसापछि हत्या भएको हुन सक्ने देखिए पनि वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र यकिन हुने बताए।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले वीरगञ्जबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान अघि बढाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धानको निगरानी गरिरहेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकिएको प्रहरीले जनाएको छ।

बालिकाको मृत्युको घटनामा संलग्न हुन सक्ने व्यक्तिको पहिचान र पक्राउका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। घटनाका सम्भावित सबै पक्षमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पोस्टमार्टम तथा अन्य अनुसन्धानबाट घटनाको वास्तविक कारण खुल्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !