
काठमाडौँ । नेपालमा तारन्तार भूकम्प आइरहेको छ । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भयो । तर, नेपालमा जोखिम कम हुने अवस्था देखिँदैन ।
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा बर्मासम्म करिब २५ सय किलोमिटर लामो हिमालय क्षेत्र छ । यसमध्ये करिब आठ सय किलोमिटर अर्थात् एकतिहाइ भाग नेपालमा पर्छ । यसमा पर्ने ‘टेक्टोनिक प्लेट’हरूबिचको टकराव र ऊर्जा सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा रहेको बताउँछन्, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)का भूकम्पविद् डा. शिव सुवेदी ।
चीन केन्द्रबिन्दु भई गएको भूकम्प नेपालमा टकराव र ऊर्जा सञ्चितिका कारणले नभई त्यसको ‘मुभमेन्ट’का कारणले महसुस भएको हो । ‘टेक्टोनिक प्लेट’हरूबिचको टकराव र ऊर्जा सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा छ ।
‘भारतको टेक्टोनिक प्लेट नेपालमुनि घस्रिएको छ । भित्र गहिराइमा गइरहेको छ । दुईवटै प्लेटको मुभमेन्टले गर्दा एनर्जी बाहिर आएको हो,’ उनी भन्छन्, ‘तिब्बतमा गएको भूकम्पले नेपालमा जान सक्ने भूकम्पको जोखिमलाई घटाएको छैन । नेपालको सञ्चित भएको शक्ति गएको होइन ।’
पश्चिम नेपालमा पाँच सय वर्षयता ठुलो भूकम्प नगएको जानकार बताउँछन् । यसको मतलब त्यहाँको जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ । मुस्ताङमा सन् १५०५ जुन ६ मा आठ म्याग्निच्युडको भूकम्प गएको इतिहास छ । जसलाई विज्ञहरू नेपाली इतिहासमा अभिलेख भएको सबैभन्दा ठुलो शक्तिको भूकम्प मान्छन् । त्यसको शक्ति ८.२ देखि ८.८ म्याग्निच्युडको बिचमा अनुमान गरिएको छ ।
तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्पपछि मध्यपश्चिम र सुदूरपश्चिममा ठुलो भूकम्प जान सकेको छैन । त्यो जोखिम अझै कायम रहेको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा बताउँछिन् ।
चीनमा गएको भूकम्पले नेपालमा जान सक्ने जोखिम न्यूनीकरण भएको हो त भन्ने प्रश्नमा उनले भनिन्, ‘चाइनामा गएको भूकम्प तिब्बतियन प्लेटमा गएको हो । हामीकहाँ जाने भूकम्प भनेको तिब्बतियन र भारतीय प्लेटको टकराव क्षेत्रमा हो । यसले गर्दा नेपालमा भूकम्प जाने हो ।’
चीनको भूकम्पले नेपालमा सञ्चित भएको शक्ति घटाउँदैन । शक्ति सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा देखिन्छ । सो जोखिम नहटेको झाको भनाइ छ । उनका अनुसार मध्य नेपालमा १०० वर्षयता ठुला भूकम्प गइरहेका छन् । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको गयो । तर, त्यसको प्रभाव गोरखा पश्चिममा परेन । मध्य नेपालमा भने ठुलो क्षति ग¥यो ।
झाका अनुसार गोरखालाई बिन्दु मान्दा त्यसबाट पश्चिम नेपाल हुँदै देहरादुनसम्म ५१८ वर्ष अवधिमा ठुलो भूकम्प गएको छैन । उपमहानिर्देशक झा भन्छिन्, ‘यसले गर्दा त्यस क्षेत्रमा हजारवटा ६ म्याग्निच्युडको भूकम्प र २५ सयवटा सात म्याग्निच्युडको भूकम्प जान सक्ने शक्ति छ ।’
ठुलो भूकम्प जाँदा त्यसका हजारौँ परकम्प जान्छन् । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो ।
ठुलो भूकम्प जाँदा त्यसका हजारौँ परकम्प जान्छन् । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो ।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत वर्ष असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गयो । जाजरकोटमा गत वर्ष नै एक महिनापछि कात्तिक १८ गते शनिबार ६.४ म्याग्निच्युडको भूकम्प गयो । यी भूकम्पको कैयौँ परकम्प गइसकेका छन् ।
पश्चिम नेपालमा केही समययता लगातार भूकम्प गइरहेको छ । हरेक भूकम्पको शक्ति चार म्याग्निच्युड आसपास देखिन्छ । यी सोही भूकम्पका परकम्प हुन् । त्यस्ता परकम्प ५५ हजारभन्दा बढी गइसकेको जानकार बताउँछन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरणअनुसार २०८१ साल लागेयता १९ पटक भूकम्प गइसकेका छन् । यीमध्ये अधिकांशको इपिसेन्टर पश्चिममै देखिन्छ ।
चीन केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्पको परकम्प जाने उनीहरूको भनाइ छ । सोबाट सतर्क रहन भूकम्पविद् डा. सुवेदी सुझाउँछन् ।
‘सात म्यानिच्युडको भूकम्पको परकम्प ६ म्यानिच्युडसम्म जान सक्छ,’ उनी भन्छन्, ‘यसबाट सर्तक रहनुपर्छ ।’
उपमहानिर्देशक झा चीन केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्पको ३० देखि ४० हजार परकम्प जान सक्ने बताउँछिन् । ‘चीनको भूकम्पबाट ७० भन्दा बढी परकम्प आइसक्यो,’ उनी भन्छिन्, ‘चार म्याग्निच्युडभन्दा बढी १२ वटा परकम्प आइसकेको छ । सोलुखुम्बतिर महसुस गरेका छौँ । सात म्याग्निच्युडको भूकम्प जाँदा ३० देखि ४० हजार परकम्प जान्छ ।’