अर्चना यादव
धारापानी, १९ माघ । जनकपुर र मिथिला मधेस क्षेत्रका चर्चित कमेडियन तथा धाँसु कलाकार अविनाश झा ‘कलकतियाबाली’ बैबाहिक बन्धनमा बाँधिएका छन् ।

उनी आफ्नै टोलीमा कार्यरत कमेडियन एवं नृत्यङ्गना अनिशा सदासँग बैबाहिक बन्धनमा बाँधिए । उनीहरु माघ १४ जिल्ला अदालतमा गएर कानूनी विवाह पश्चात् मन्दिरमा टिकाटालो गरे ।

आफूले ‘जात हेरेर होइन, कलाकारसँग विवाह गरेको’ बताउने कलकतियाबाली साँच्चिकै मिथिला मधेसका एक अब्बल कलाकार हुन् भन्ने कुरा साबित गरिदिए ।


विगत लामो समयदेखि मैथिली कलाक्षेत्रमा बैचारिक क्रान्ति गर्दै आइरहेका कलकतियाबाली अन्ततः सामाजिक मनोक्रान्तिको भाव प्रस्तुत गर्न सफल भए । जसको सर्बत्र चर्चा भइरहेको छ । अहिले हरेक स्रोता र दर्शकहरुको मनमस्तिष्कमा कलकतियाबालीको विवाहले नै स्थान पाइरहेको छ । गफमा मात्रै सीमित हैन, व्यवहारमै लागू गरे । उनको यो कदम समाजको लागि एउटा उदाहरण बनेको छ ।


लोकप्रिय मैथिली कलाकार कलकतियाबाली र अनिशा सदा (मुसहर) विवाहको ऐतिहासिक कदमले हाम्रो समाजमा गहिराइसम्मै जरा गाडेको जातीय विभेद र छुवाछूतको मानसिकतालाई चुनौती दिएको छ । यद्यपि, उनीहरुको यो कदमले समता, समानता तथा प्रेमको वास्तविक रूपलाई उजागर गरेको छ ।

‘लव यु मिथिला’ टिमका मार्फत् उनीहरु आफ्ना कलाकर्म अगाडि बढाइरहेका छन् । उनीहरुको अभिनयलाई नेपालको मिथिला मधेसमा मात्रै होइन, भारतको बिहारमा समेत उत्तिकै प्रशंसा हुने गर्दछ ।

पछिल्लो समय युट्युब र फेसबुकमा कलकतियाबालीको भिडियो आउने बित्तिकै भाइरल हुनै पर्ने एकखाले छापै परिसकेको छ । कठिन परिस्थितिको सामना गरेरै अघि बढ्नेले नै साहासिक कदम चाल्ने गर्दछ । जसले गर्दा उनको भाग्यमा जुर्यो अनिशा सदा ।


हुने विरुवाको चिल्लो पात भनेझैं कलकतियाबाली कला क्षेत्रमा प्रवेश गरेसँगै निकै कठिन परिस्थिति र कडा मेहनतका साथ अघि बढेका थिए । उनले जनकपुरधामबाट सञ्चालित रेडियो टुडे ९१ मेगाहर्जमा कार्यक्रम ‘मनक बात’ चलाउने गर्दथे ।


वि.सं. २०६७ सालदेखि नै कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका उनी रेडियो नाटकबाट आफ्नो करियरको सुरुवात गरेका थिए । समाजिक सञ्जालहरुको आगमनसँगै उनले नयाँ प्लेटफर्म पाउन सफल भए । अहिले उनको युट्युब च्यानल, फेसबुकमा समेत उनको कमेडी भिडियोहरु मन पराउनको सङ्ख्या अधिक छ । उनी आफ्नो काममा विश्वास गर्ने कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !