नेपाली समाजमा यौन स्वास्थ्य अझै पनि वर्जित विषयको रूपमा लिइन्छ। यो विषयमा सामान्यतया छलफल र गफगाफ नै निकै कम हुन्छ। पाठ्यक्रममा समावेश भए पनि यौन स्वास्थ्य सम्बन्धी विषयहरूमा शिक्षकहरू पनि खुलेर छलफल गर्न हिचकिचाउँछन्। विद्यार्थीले आफ्ना जिज्ञासा र समस्याहरू राख्ने उपयुक्त वातावरण पाउँदैनन्। यो विषयलाई कलंकित गरिएको कारण व्यक्तिगत र सामाजिक तहमा गम्भीर असर पार्दै आएको छ।

नेपाली चलचित्र क्षेत्रमा यौन स्वास्थ्य सम्बन्धी विषयको प्रस्तुति अत्यन्तै सीमित र अपरिपक्व रहँदै आएको छ। अधिकांश चलचित्रले यी विषयलाई या त पूर्ण रूपमा बेवास्ता गरेका छन्, या हास्यास्पद ढंगले प्रस्तुत गरेका छन्। यौन स्वास्थ्य जस्तो गम्भीर विषयलाई मनोरञ्जनको साधन बनाउने वा अश्लील दृश्यहरूको माध्यमबाट देखाउने प्रवृत्ति बढी देखिन्छ। यी विषयहरूको चित्रण आफैंमा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो। त्यसैले धेरैजसो निर्माताले यस्ता विषयमा चलचित्र बनाउनै हिच्किचाउँछन्।तर फागुन १४ बाट प्रदर्शनमा आएको फिल्म ‘दुखी आत्मा’ले समाजमा अझै पनि वर्जित विषयको रूपमा रहेको पुरुष यौन स्वास्थ्य, विशेषगरी ‘इडी’ (इरेक्टाइल डिसफंक्शन) को विषयलाई साहसिक र संवेदनशील तरिकाले प्रस्तुत गरेको छ। पुरुषहरूमा देखिने यौन समस्याहरूमध्ये इरेक्टाइल डिसफंक्शन एक प्रमुख समस्या हो।यो समस्या भएका पुरुषहरूले यौन क्रियाकलापको समयमा लिङ्गलाई उत्तेजित अवस्थामा राख्न वा कायम राख्न कठिनाई अनुभव गर्छन्। यद्यपि यो एक सामान्य चिकित्सकीय अवस्था हो, नेपाली समाजमा यसलाई अझै पनि लाजमर्दो विषयको रूपमा लिइन्छ।फिल्मले मुख्य पात्र छेवाङको कथा मार्फत नेपाली समाजमा पुरुष यौन स्वास्थ्यको विषयमा रहेको अन्धविश्वास, ठगी र यसले निम्त्याउने मनोवैज्ञानिक पीडालाई प्रस्तुत गरेको छ। फिल्मको मुख्य पात्र छेवाङ जो कवि पनि हो, उसलाई इरेक्टाइल डिसफंक्शनको समस्या छ, जुन कुरा उसले कसैलाई भन्न सकेको हुँदैन। आफूमा यौन दुर्बलता रहेको थाहा पाएपछि छेवाङ समाजमा व्याप्त विभिन्न भ्रमहरूको शिकार बन्छ।ऊ सर्वप्रथम एक कथित विशेषज्ञको सम्पर्कमा पुग्छ, जसले कोरियन औषधिको नाममा उसलाई ५० हजार रुपैयाँ ठग्छ। समस्याको समाधान खोज्ने क्रममा छेवाङ विभिन्न ठगहरूको जालोमा फस्दै जान्छ। तान्त्रिकको बुटीदेखि नक्कली तेलसम्म प्रयोग गर्ने उनको यात्राले एकातिर समाजमा यौन स्वास्थ्यबारे रहेको अज्ञानतालाई देखाउँछ भने अर्कोतिर यस्ता समस्याको उपचारको नाममा हुने ठगी र शोषणलाई पनि उजागर गर्छ।फिल्मले छेवाङको शारीरिक र मानसिक पीडालाई अत्यन्त संवेदनशील तरिकाले प्रस्तुत गरेको छ। चलचित्रले यौन दुर्बलताले व्यक्तिमा पार्ने गहिरो मनोवैज्ञानिक प्रभावलाई पनि प्रभावकारी ढंगले देखाएको छ। समाजको डर र लाजले गर्दा यस्ता समस्या भएका व्यक्तिहरू प्रमाणित चिकित्सकको सट्टा झाँक्री, तान्त्रिक र ठगहरूको शरणमा पुग्ने गरेको यथार्थलाई फिल्मले उजागर गरेको छ। यसरी फिल्मले एउटा व्यक्तिको कथा मार्फत समग्र नेपाली समाजमा यौन स्वास्थ्यको विषयमा रहेको अज्ञानता, अन्धविश्वास र यसले निम्त्याउने दुष्परिणामहरूलाई देखाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !